नियमित रुपमा लाइसेन्सका लागि फारम भर्न सकिने
काठमाडौं, ९ कात्तिक । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । गएको वैशाख १६ गतेदेखि कोरोना महामारीको कारण देखाएर बन्द गरिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो ।
कोरोना महामारीको कारण देखाएर ६ महिनासम्म आबेदन रोकिदा नयाँ चालकहरु समस्यामा परेका थिए । अब आबेदन प्रणाली खुला भएको र नियमित रुपमा सवारी चालक अनुमति पत्रका लागि फारम भर्न सकिने विभागले जनाएको छ ।
विभागका अनुसार कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमा आबेदन लिन थालिएको छ र कार्यालयहरुले पनि आफ्नो क्षमता अनुसार कोटा तोकेर आबेदन खुलाएका छन् ।
विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ ।
सवारी चालक अनुमति पत्रका लागि नयाँ आबेदन दिनेहरुले यातायात व्यवस्था विभागको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४÷४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।
लाइसेन्सका लागि अँकभारमा आधारित परीक्षा प्रणाली लागू भएपछि अब प्रयोगात्मक परीक्षमा सामान्य गल्ती गरेपनि लाइसेन्स पाउन बाट बन्चित हुनुपर्ने छैन । नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएकाले नयाँ आबेदन कर्ताले परीक्षामा ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।