बुटवल, ७ कात्तिक । सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्य सहकारी संस्थाले बुटवल ७ मा अवस्थित नीलकण्ठ बावा धाममा संचालित धाम तथा गुरुकुल आश्रमलाई भान्सामा आवश्यक पर्ने सबै प्रकारका खाद्यान्न सामाग्री प्रदान गरेको छ ।
कोभिडको महामारीसंगै धाममा भक्तजनहरुको आवागमन बन्दहुंदा आर्थिक संकलन प्रभावित भएकोले धाममा रहेका गुरुकुलमा अध्ययनरत विद्यार्थी(बटुक)हरुलाई खानाको व्यवस्थापनमा समस्या रहेको महशुस गरी सहकारीले भान्सामा आवश्यक पर्ने सबै प्रकारका खाद्यान्न सामाग्री प्रदान गरेको सहकारीका अध्यक्ष लक्ष्मण आर्चाय क्षेत्रीले बताउनु भयो ।
सहकारीका सदस्य राजु गुरुङको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले यस क्षेत्रका विभिन्न आश्रम, मठ मन्दिर, लगायतका स्थानको अवलोकनगरी सबै भन्दा बढी समस्या रहेको नीलकण्ठ बावा धामलाई छनौट गरेर खाद्यान्न राहात सामाग्री प्रदान गरेको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
राहात सामाग्री ग्रहण गर्दै निलकण्ठ बावा धामका उपाध्यक्ष चुरामणी पौडेलले सहकारीले धामलाई छनोट गरी खाद्यान्न सामाग्री उपलब्ध गराएकोमा आभार प्रकट गदै गुरुकुल आश्रममा धेरै समस्या रहेकाले स्थानीय सरकारलाई यस तर्फ ध्यानाकर्षण गराउन नागरिक समाजले दवाव दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष दोल राज पाण्डे, कार्यक्रम संयोजक राजु गुरुङ लगायतले बोल्दै सबैले आफ्नो जन्म दिन तथा वैवाहिक बर्षगाँठ जस्ता कार्यक्रम धाममा आएर मनाउने हो भने धामलाई आर्थिक ब्यवस्थापनमा धेरै सहिज हुने धारणा राख्नुभयो । सहकारीले सोमवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान गर्न ईच्छुकहरुलाई सहकारीले विहान ८ वजे सहकारी कार्यालय बुटवल विसक्याम्पमा आउन आग्रह समेत गरेको छ ।
