बुटवल, ७ कात्तिक । रुपन्देहीको बुटवलमा एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाएका थिए ।
घटनामा एम्बुलेन्स चालक रुपन्देहीको गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।