तिलोत्तमा, २१ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, स्थित शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयले दशै तिहारको शुभकामना आदान प्रदान संगै विद्यालयको १० बर्षे गुरुयोजना सार्वजनिक गरेको छ ।
विजया दशमीको घटस्थापनको अवसर पारेर विद्यालयले बिहीबार विद्यालयको आन्तरिक गतिविधि संगै विद्यालयको गुरुयोजना सार्वजनिकरण गरेको हो । विद्यालयले बिहीबार नै विद्यालय प्रबेशद्वार, पुस्तकालय, आईसीटी र विद्यालय प्राङ्गणमा निर्मित खेल मैदानको उद्घाटन् गर्नुका साथै विद्यालयको गुरुयोजना सार्वजनिक गरेको हो ।
विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यालय हाता भित्र निर्मित विभिन्न संरचनाको उद्घाटन र गुरुयोजना सार्वजनिक गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले शैक्षिक हवको रुपमा विकास हुंदै गैरहेको विद्यालयको समग्र विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गरिराख्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले विद्यालयको भावि योजना र अहिलेसम्म भएका कार्य प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा वडा नम्वर २ का अध्यक्ष दधिराम गौतम, पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाशलाल श्रेष्ठलगायतले बोल्दै विद्यालयको शैक्षिक तथा भौतिक विकास संगै विद्यालयमा धेरै भन्दा धेरै विद्यार्थी आकर्षण गर्ने खालका कार्यक्रम विद्यालयले संचालन गर्नुपर्ने सुझाव राख्नु भयो ।
