भैरहवा, १९ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर नेपाल भित्र्याउंदै गरेको साढे सात लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी एकाईबाट खटिएको प्रहरी टोली जिल्लाका बिभिन्न ठाउंबाट सात लाख ४६ हजार सात सय रुपैयाँ बराबरको अवैध सामान स्थानीयको रोहबरमा बरामद गरेको हो ।
ती सामान भारतबाट अवैध रूपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई–३, गुलरियाबाट युपी ५३०५५ र युपी ५६ सी ४३४६ नम्बरको भारतीय दुईवटा मोटरसाइकलमा ल्याउँदै गरिएका विभिन्न किसिमका कपडा मोटरसाइकल सहित बरामद गरेको छ । बरामद सामान र मोटरसाईकलको मुल्य दुई लाख ४७ हजार पाँच सय ५० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मर्चवारी–७ मञ्जरीया चोकबाट दुई लाख ९० हजार पाँच सय रुपैयाँ बराबरको ११ वटा बोका सहित पाँच लाख ३८ हजार ५० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवाबाट जुत्ता ३४ जोर, बिभिन्न किसिमका लत्ता कपडाहरु, चियापत्ती १० प्याकेट, पापड २५ प्याकेट, बटर ११ किलो, र चिनी ५० किलो गरी एक लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर–६ गल्लामण्डीबाट बा १४ प ९५४१ नम्बरको मोटरसाइकलमा अवैध रूपमा भारतबाट ल्याउँदै गरेको दुई बोरा चिनी र २३ हजार बराबरको अन्य सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मझगाँवा मातहत प्रहरी चौकी हाटीवनगाईबाट खटिएको प्रहरी टोलीले मायादेवी–६ स्थित भन्सार चोकबाट दुई बोरा चिनी र एक बोरा सरफ गरी नौ हजार बराबरको अवैध सामान बरामद गरेको छ ।