बढि भाडा लिने र नियम उलंघन गर्नेलाई कारवाही गरिने
बुटवल, १९ असोज । नजिकिदै गरेका महान चाड दशैं तिहारलाई लक्षित गरी यात्रुको सुरक्षाका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाका ४४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय र स्थानीय यातायात व्यवसायी संस्थाहरुको सहकार्यमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यस्तै रुपन्देही जिल्लाको बुटवलमा पनि नयाँ बसपार्क, राजमार्ग चौराह र गोलपार्कमा मंगलबार देखि यात्रु सहायता कक्ष सेवा शुरु गरिएको छ । पश्चिम नेपाल बस बयवसायी प्रा. लि. को सहयोगमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले यात्रु सहायता कक्ष सेवा संचालन गरेको हो । यात्रु सहायता कक्षमा कोभिड–१९ सुरक्षा सामाग्री र खानेपानी वितरण गरिएको छ भने मादक पदार्थ विरुद्ध सचेतना बोर्डहरु समेत राखिएको छ ।
बुटवल नयाँ बसपार्कमा संचालनमा ल्याइएको यात्रु सहायता कक्षको लुम्विनी ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिह थापाले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक थापाले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली र छठ पर्व अवधिमा सवारी साधन र यात्रुहरुको चांप लाई मध्येनजर गरी यात्रुहरुलाई पर्न जाने पिरमर्का र गुनासो सुनुवाई गर्नुको साथै सवारी चालक तथा सवारी धनीहरुलाई यात्रु मैत्रि व्यवहार, सुरक्षित सडक प्रयोग गर्न, क्षमता भन्दा बढि यात्रु तथा मालसामन बोक्दा हुन सक्ने सम्भाव्य सवारी दुर्घटना, तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्नु जस्ता कार्यलाई निरुत्साहित गर्न तथा कोभिड–१९ बाट बच्नको लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरौ भन्ने चेतनामुलक सन्देश सर्वसाधारणहरूलाई दिनका लागि लुम्बिनी प्रदेश अन्तरगत १२ जिल्लाका ४४ स्थानमा यात्रु सहायता कक्ष संचालन गरिएको जानकारी गराउनु भयो ।
यात्रु सहायता कक्षमा परिमार्जित भाडादरको लिष्ट राखिनुका साथै भाडादरको अनुगमन, आरक्षित सिटमा सरोकारवालाहरुले सुविधा पाए नपाएको अनुगमन गरिने र यात्रुबाहक बसले क्षमता भन्दा बढि यात्रु बोकेको भए आवश्यक जाँच गरी कारवाही हुने उहांले बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुवँर, पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.का संचालक सुरेन्द्र श्रेष्ठ, प्रा.लि.का सल्लाहकार केशवराज पन्त, पश्चिमाञ्चल यातायात ब्यवसायीका अध्यक्ष यमप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले बोल्दै चाडपर्व बाहेकका समयमा पनि यात्रु सहायता कक्षको आवश्यक्ता महसुस हुनेहुंदा नियमित संचालनमा लयाउनु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक मधु नेपालले यात्रु सहायता कक्षबाट यात्राको क्रममा यात्रुहरुलाई पर्ने गुनासो र समस्याहरुको समेत सुनुवाई गरी समाधान गरिने बताउनु भयो ।
यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा लुम्बिनी अटोमोबाइल्स अफ नेपालद्वारा मंगलबार ट्राफिक सचेतना अभियान संचालन गरिएको थियो । अभियान अन्तर्गत पैदल तथा सवारी साधनमा सवार यात्रुहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउनुका साथै कोभिड–१९ बाट बच्न मास्क वितरण गरिएको प्रहरी सहायक निरिक्षक ज्ञानु पाण्डेले जानकारी दिनुभयो ।
