जर्मन सहयोग नियोग(जीआइजेड) बाट अवार्ड प्राप्त
बुटवल, १८ असोज । लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर पालिका नेपालमै पहिलो भएको छ । व्यवसायिक वातावरण सूचकमा मुलुकभरका नगरपालिकालाई पछि पार्दै बुटवलले उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।
जर्मन सहयोग नियोग (जीआइजेड) ले विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलले बताउनु भयो ।
टिम लिडर खकुरेलका अनुसार स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको थियो । सोही मूल्यांकनका आधारमा बुटवल व्यवसायिक वातावरण सूचकमा मुलुकमै पहिलो भएको हो ।
जीआइजेडले बुटवललाई लगानीमैत्री र व्यवसायिक वातावरणमा उत्कृष्ट नगरका रुपमा अवार्ड प्रदान गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलसहित आएको जीआइजेडको टोलीले प्रमाण पत्र र अवार्ड प्रदान गरेको हो ।
स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा विज्ञहरुले सर्वेक्षण गरेका थिए । सोही आधारमा व्यसायिक वातावरण सर्वेक्षण (बीजनेश क्लाइमेट सर्वे) २०२०÷२०२१ को नतिजा प्रकाशन गरी अवार्ड प्रदान गरिएको थियो ।
सो अवसरमा बुटवल उपमहानगर प्रमुख शिव सुवेदीले बुटवलले यसअघिको आर्थिक विकास रणनीतिलाई पुनरावलोकन गर्न लागेको र लगानीमैत्री वातावरण बनाउन नयाँ रणनीति बनाइरहेको बताउनु भयो । उहाँले समृद्ध बुटवल र खुशी बुटवलबासीको लक्ष्य अनुरुपका काममा सार्वजनिक र निजी साझेदारी हुने भन्दै सहकार्यका लागि आग्रह गर्नुभयो ।
आर्थिक सम्बन्ध विस्तार गरी लगानीका लागि प्रोत्साहन गर्दै सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको लक्ष्य हासिल गर्नेतर्फ बुटवलका योजना केन्द्रित भएको प्रमुख सुवेदीले बताउनु भयो ।
