तिलोत्तमा, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नमवर ५, मणिग्राम निवासी सीता भण्डारीको भदौ १९ गते राती आफ्नै घरमा अस्वभाविक मृत्यु भएको घटनाको गम्भीरतापुर्वक अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा च्याम्वर अफ कमर्सले माग गरेका छन् ।
संघका अध्यक्ष गुणनिधि भण्डारी(माधव) र कमर्सका अध्यक्ष बाबुलाल भुषालले सोमबार संयुक्त विज्ञप्ति जारी गरी भण्डारीको अस्वभाविक मृत्यु र मृत्यु पछिका घटना प्रति तिलोत्तमा नगर क्षेत्रका निजी क्षेत्रको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा आम जनसमुदायले न्यायका लागि गरेको आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै आन्दोलनलाई शान्तिपुर्ण र दवावमुलक ढंगबाट संयमित भई अगाडी बढाउन आग्रह गरिएको छ ।
‘घटनाको अनुसन्धान चलिरहेको अवस्थामा न्यायका लागि दवावमुलक कार्यक्रम अगाडी बढाउंदै गर्दा र राजमार्ग अवरुद्ध जस्ता गतिविधिले स्थानीय संघ संस्था, उद्योगी÷ब्यवसायी तथा तथा जनसमुदायमा नकारात्मक प्रभाव पर्दै गएकोले आन्दोलनलाई संयमित ढंगले अगाडी बढाउन आग्रह गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । दुबै संस्थाले विज्ञप्ति मार्फत स्वर्गीय भण्डारीको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार जनमा समबेदना ब्यक्त गरेका छन् ।
