बुटवल, १४ असोज । लुम्बिनी प्रदेश सरकारले डा. इन्द्र ढकाललाई लुम्विनी प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्टमा नियुक्त गरेको छ ।
बिहीबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएर उहांको ठाउंमा डा. ढकाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो ।
शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले डा. खनाल लाई रेडियोलोजी विभागमा सरुवा गरेर डा. ढकाललाई मेडिकल सुपरिटेण्डेण्टमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, तत्कालिन मन्त्रीपरिषदको निर्णयलाई प्रक्रिया नमिलेको भन्दै कर्मचारीहरुले कार्यान्वयन गरेका थिएनन् । केसी नेतृत्वको सरकारले पनि तत्कालिन सरकारले गरेको निर्णयलाई निरन्तरता दिदै डा. ढकाललाई निमित्त मेडिकल सुपरिटेण्डेण्टमा नियुक्त गरेको छ ।
डा. खनाललाई अर्को जिम्मेवारी दिएर डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिईएको सरकारका प्रवक्ता समेत रहनुभएका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले बताउनु भयो ।
डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको प्रवक्ता खड्काले बताउनु भयो । मन्त्री खड्काका अनुसार मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।