यशोधरा गाउँपालिकाको ७ नम्वर वडामा विवाद
कपिलवस्तु, १४ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लाका १० पालिका मध्ये ९ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिबेशन भएका पालिका मध्ये ८ वटामा निर्वाचन प्रक्रिया मार्फत नेतृतव चयन भएको छ भने महाराजगञ्ज नगरपालिकाको नेतृत्व सर्वसम्मत चयन गरिएको थियो । महाराजगञ्ज नगरपालिका सभापतिमा रामअचल चौधरी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
अन्य ८ वटा पालिकामा निर्वाचन भएको थियो । कपिलबस्तुको जिल्ला सदरमुकाम रहेको कपिलबस्तु नगरपालिकाको सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित हुनु भएको छ । सभापतिका लागि चार जना विच प्रतिष्प्रधा भएको थियो । जसमा खाँले ८२ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभयो भने उहांका प्रतिस्प्रर्धि कृष्ण शर्माले ६५, प्रशान्त कार्कीले ५६ र मायाँ ज्ञवालीले ७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै बाणगंगा नगरपालिकाको सभापतिमा विष्णुबहादुर थापा निर्वाचित हुनु भएको छ । थापाले अर्का प्रतिस्प्रधि विरेन्द्र श्रेष्ठलाई १६ मतले पराजित गर्नु भएको छ । थापाले १२१ मत र श्रेष्ठले १०५ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार रबिराज आचार्यले मात्र ४१ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै बुद्धभूमि नगरपालिकाको सभापतिमा माधव दमासे निर्वाचित हुनुभएको छ । सभापतिमा निर्वाचित दमासेले १९४ मत र प्रतिस्प्रधि सुशिलकुमार चौधरीले मात्र ४० मत प्राप्त गर्नुभएको छ ।
शिवराज नगरपालिकामा पनि निर्वाचन मार्फत नेतृत्व चयन भएको छ । शिवराज नगरपालिकामा भएको अधिबेशनमा ११८ मत प्राप्त गरी मधुसुदन पोखरेल सभापतिमा निर्वाचित हुनुभएको छ । उहांका प्रतिद्धन्दी राजु खरालले ८७ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै कृष्णनगर नगरपालिकाको सभापतिमा देवानन्द शुक्ला निर्वाचित हुनुभएको छ । शुक्लाले ९५ मत प्राप्त गर्नुभएको छ भने सभापतिका अर्का उम्मेदवार अजय उपाध्यायले ७९ मत प्राप्त गर्नुभएको थियो ।
सुद्धोधन गाउँपालिका सभापतिमा विश्वम्भर कुर्मी निर्वाचित हुनु भएको छ । सभापतिमा निर्वाचित कुर्मीले ५७ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार रामनयन यादवले ४४ मत प्राप्त गर्नुभएको छ ।
मायादेवी गाउँपालिकाको सभापतिमा शैलेन्द्र दुवे निर्वाचित हुनु भएको छ । सभापतिमा निर्वाचित दुवेले ७३ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिस्पर्धी तबारक मुसलमानले ५९ मत प्राप्त गर्नुभयो ।
यस्तै विजयनगर गाउँपालिकाको सभापतिमा १ मतले जानकीप्रसाद यादव निर्वाचित हुनु भएको छ । यादवले ५३ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी राजेश उपाध्यायले ५२ मत प्राप्त गर्नुभएको थियो ।
जिल्लाको यशोधरा गाउँपालिकामा भने वडामा विवाद भएका कारण अधिवेशन हुन सकेको छैन । यशोधरा गाउँपालिकाको वडा नं. ७ मा विवाद भएपछि वडा अधिवेशन रोकिएका कारण गाउँपालिकाको अधिवेशन रोकिएको निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले वडाको विवाद समाधान गरेर वडा र गाउँपालिकाको निर्वाचित छिटै गरिने बताउनु भयो ।
