तिलोत्तमा, १३ असोज । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बुधबार निर्वाचन समितिले प्रमाण पत्र वितरण गरेको छ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत यही असोज ९ गते भएको पालिका अन्तर्गतको अधिबेशनबाट निर्वाचित रुपन्देहीको तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई एक कार्यक्रमका विच पदस्थापन सहित प्रमाण पत्र वितरण गरिएको हो ।
नगर अधिबेशनमा सदस्यहरु सबै सर्वसम्मत निर्वाचित भएका थिए भने सभापति सहित अन्य पदाधिकारीमा निर्वाचन भएको थियो । अधिबेशनमा सभापतिमा हरिलाल पाण्डे, नारायण न्यौपाने र हरिप्रसाद तिवारी विच चुनावी प्रतिष्प्रधा भएको थियो । निर्वाचनबाट सभापतिमा १७४ मत सहित हरिलाल पाण्डे निर्वाचित हुनुभयो भने सभापतिका प्रत्यासी नारायण न्यौपानेले १७२ र हरिप्रसाद तिवारीले ३० मत प्राप्त गर्नुभएको थियो । यस्तै उपसभापतिमा कल्याण प्रसाद पौडेल र माया चौधरी, सचिबमा प्रदिप कुमार थापा र हुमलाल पौडेल तथा सहसचिवमा दिपक थापा र रमेश पराजुली निर्वाचित हुनुभएको छ ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण र निर्वाचन अधिकृत डा. ओमप्रकाश अर्यालले खादा, अविर र प्रमाण पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै तिलोत्तमामा नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहांले आन्तरिक निर्वाचनका क्रममा भएका प्रतिष्प्रधालाई विर्सेर सबैलाई समेटेर अगाडी बढ्न नगर समितिलाई निर्देशन दिनुभयो ।
नगर सभापति हरिलाल पाण्डेले आगामी निर्वाचनमा तिलोत्तमा नगर र नगरका सबै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
नगर सभापतिका प्रत्यासी हरिप्रसाद तिवारीले पार्टीको आन्तरिक निर्वाचनमा प्रजातान्त्रिक अभ्यास अन्तर्गत प्रतिष्प्रधा भएपनि अब निर्वाचन परिणामलाई स्विकार गरेर सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहांले निर्वाचनमा भएको प्रतिष्प्रधालाई सहजरुपमा लिएर सबै एकजुट भएर तिलोत्तमामा नेपाली काँग्रेसलाई बलियो र शसक्त पार्टी बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
सो अवसरमा नगर समितिका निवर्तमान सचिव शिब प्रसाद गैरेले निर्वाचित सचिव द्वय प्रदिप कुमार थापा र हुमलाल पौडेललाई माइन्युट बुक हस्तान्तरण गर्दै पदस्थापन गराउनु भएको थियो ।
