बुटवल, १३ असोज । बुटवलको ज्योतीनगर तथा लक्ष्मीनगर क्षेत्रमा गएको पहिरो तत्काल व्यबस्थापन गर्न माग गर्दै बुटवल उद्योग बाणिज्य संघले गृहमन्त्री बालकृष्ण खाँण र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाएको छ । संघले पहिरोको ब्यवस्थापन संगै पहिरो प्रभावितलाई समेत उचित व्यबस्थापन गर्न माग गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत गृह मन्त्री खाँण र लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउंदै यस्तो माग गरेको हो ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री केसीलाई ज्ञापन पत्र बुझाउँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले ज्योतीनगर तथा लक्ष्मीनगर क्षेत्रमा चुरेबाट झरेको पहिरो सिंगो बुटवललाई नै जोखिम हुनेगरी खडा भएकोले त्यसको दीर्घकालिन समाधानको खोजी गर्न आग्रह गर्नुभयो । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री केसीले ज्योतीनगर तथा लक्ष्मीनगर क्षेत्रमा गएको पहिरो व्यबस्थापनको लागि प्रदेश सरकारको तर्फबाट काम सुरु गरिएको जानकारी गराउँदै पहिरो प्रभावितलाई तत्काल राहत र व्यबस्थापनको लागि गृहकार्य भईरहेको जानकारी गराउनु भयो ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ज्ञापन पत्र तत्काल गृह मन्त्रालयमा पठाउने र बाँकी प्रशासनबाट गर्नुपर्ने कामको लागि आफू तयार रहेको जानकारी गराउनु भयो । त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ समेतको सहभागिता रहेको थियो ।
