बुटवल, १० असोज । लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन र व्यवसायीहरुलाई सहज रुपमा आपूर्तिको व्यवस्था मिलाउन पेट्रोलियम व्यवसायीले माग गरेका छन् ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवलले नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा सरुवा भई आउनु भएका कार्यालय प्रमुख तथा कार्यालयबाट सरुवा भई जान लागेका कार्यालय प्रमुख लगायतका कर्मचारीहरुको सम्मानमा आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा बोल्ने ब्यवसायीहरुले निगमलाई व्यवसायी मैत्री बनाउनु पर्नेमा जोड दिएका छन् ।
ब्यवसायीहरुले विगतमा नेपाल आयल निगमका तत्कालिन प्रमुखहरुले बितरण प्रणालीमा बिभेद गरेको र एशोसिएसन संग समन्वय नगरेका कारण ब्यवसायीहरु आन्दोलनमा उत्रिनु परेको स्मरण गर्दै पछिल्लो समयमा निगमले आन्तरिक सुधारका कार्यक्रममा धेरै परिवर्तन गरेकाले ब्यवसायीहरुले गर्ने गुनासामा धेरै कमी आएको बताए ।
स्वागत तथा बिदाई कार्यक्रममा एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले पछिल्लो समयमा निगम र पेट्रोलियम डिलर्स एशोसिएसन विचको सम्बन्धमा धेरै सुधार आएको बताउनु भयो । उहांले एशोसिएसन र निगमको सहकार्य र एकताका कारण ब्यवसायीहरुले सहज रुपमा माग अनुसारको ईन्धनको पाईरहेको भन्दै पेट्रोलियम पदार्थको सहज आपुर्तिकै कारण एशोसिएसन र निगमको सम्वन्ध प्रगाढ भएको बताउनु भयो । अध्यक्ष न्यौपानेले नवआगन्तुक कार्यालय प्रमुख लगायतको टिमलाई स्वागत गर्दै व्यवसायीहरुले माग गरे अनुसारको पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउने वातावरण मिलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पश्चिमाञ्चल टैकर व्यवसायी संघका अध्यक्ष राकेश कसौधनले भलवारी देखि अमलेखगंज सम्मको टैकरको भाडादर तत्काल समायोजन गर्न माग गर्नु भयो ।
कार्यक्रममा आयल निगमका नवआगन्तुक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख नवविनोद पोखरेलले निगमबाट हाल भैरहेको बितरण प्रणालीलाई निरन्तरता दिदै यसलाई थप प्रभावकारी बनाउने तर्फ ध्यान दिने बताउनु भयो । उहांले निगमले आयात, बिक्री बितरण र भण्डारण क्षमातालाई चुस्त दुरुस्त बनाई ब्यवसायीहरुको मागलाई सम्बोधन गरी कुनै खालको गुनासा नआउने गरी आफुले काम गर्ने र यसमा ब्यवसायीहरुको साथ र सहयोगको अपेक्षा आफुले गरेको बताउनु भयो ।
कार्यक्रममा निगमका प्रादेशिक प्रमुख प्रलयँकर आचार्य, प्रवन्धक शैलेनद्र भुसाल, नाप तौल तथा गुणस्तर कार्यालयका प्रमुख मनोज पोख्रेलले पछिल्लो समयमा निगममा धेरै सुधारका काम भएको बताउनु भयो । बांकी रहेका सुधारका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरामा नयाँ टिमको भूमिका महत्वपुर्ण हुने उहांहरुले बताउनु भयो । कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, महासचिव हरिराम कसौधन, पत्रकार खिमानन्द भटृराईलगायतले बोल्दै लुम्विनी प्रदेश काम गर्नेका लागि अवसर र चुनौति दुबै रहेको भन्दै व्यवसायीहरुका माग सम्बोधन गर्न सके कार्यालय प्रमुखको कार्यकाल सफल हुने धारणा राख्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै एशोसिएसनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरेले प्रशस्त मात्रामा डिपो लोड गराई ब्यवसायीहरुलाई उचित प्रतिफल दिलाउने निगमको ध्यान जान जरुरी रहेको बताउनु भयो । उहांले ब्यवसायीको माग अनुसार जुनसुकै खाली ट्याँकरमा डिपो लोडको ब्यवस्था मिलाउन समेत नवआगन्तुक कार्यालय प्रमुख संग आग्रह गर्नुभयो ।