बुटवल, ९ असोज । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको सभापतिमा हरिलाल पाण्डे निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिबेशनबाट पाण्डे नगर सभापतिमा पुन निर्वाचित हुनुभएको हो ।
पाण्डे आफ्नो प्रतिष्प्रधि नारायण न्यौपानेलाई झिनो २ मतले पराजित गरी सभापतिमा निर्वाचित हुनुभएको छ । कुल ३८८ मतमा ३८३ मत खसेको थियो । जसमा सभापतिमा निर्वाचित पाण्डेले १७४ र सभापतिका अर्का प्रतिष्प्रधि नारायण न्यौपानेले १७२ मत प्राप्त गर्नुभएको थियो । यस्तै सभापति पदमा प्रतिष्प्रधा गर्नुभएका हरिप्रसाद तिवारीले ३० मत प्राप्त गर्नुभएको छ ।
नगर समितिका अन्य पदाधिकारीहरुमा पनि पाण्डे समूहकै उम्मेदवारहरु विजयी भएका छन् । उपसभापतिमा विजयी पाण्डे समूहका कल्याण प्रसाद पौडेलले २३८ मत र मायादेवी चौधरीले २०७ मत प्राप्त गर्नुभएको छ । न्यौपाने समूहबाट उपसभापतिमा प्रतिष्प्रधा गरेका अशोक कुमार क्षेत्रीको १४३ र मधुसुदन गैरेले १४८ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिवमा निर्वाचित प्रदिप कुमार थापाले २०८ मत र हुमलाल पौडेलले १७८ मत प्राप्त गर्नुभएको छ भने प्रतिष्प्रधि शोभा कुमारी थापाले १७४ र प्रकाश गैरेले १४९ मत प्राप्त गर्नुभएको छ ।
सहसचिवमा २४० मत प्राप्त गरी रमेश पराजुली र २३८ मत प्राप्त गरी दीपक थापा निर्वाचित हुनु भएको छ भने प्रतिष्प्रधि दिनेश कुवँरले १३५ र केशरी उपाध्यायले ११४ मत प्राप्त गर्नुभएको छ ।
नगर समितिमा प्रतिनिधित्व गर्ने नगर सदस्यहरु सबै सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सैनामैनामा खनाल निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको सैनामैना नगर सभापतिमा रण बहादुर खनाल विजयी हुनुभएको छ । शनिवार भएको निर्वाचनमा १ सय २६ मत प्राप्त गरी खनाल सभापतिमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनमा २ सय ४० मत खसेकोमा खनालका प्रतिष्प्रधि कृष्णप्रसाद पोखरेलले १०२ मत प्राप्त गर्नुभएको थियो भने १२ मत रद्द भएका थियो ।