बुटवल, ९ असोज । नेपाली काँग्रेस बुटवल उपमहानगर समितिको सभापतिमा खेलराज पाण्डे निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिबेशनबाट पाण्डे नगर सभापतिमा पुन निर्वाचित हुनुभएको हो ।
पाण्डे आफ्नो प्रतिष्प्रधि रीता केसीलाई २८८ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कुल ५४५ मत खसेकामा पाण्डेले ४१२ मत प्राप्त गर्नुभएको छ भने केसीले मात्र १२४ मत प्राप्त गर्नुभएको मतदान अधिकृत जीवनारायण अधिकारीले जानकारी दिनुभयो ।
अन्य पदाधिकारीमा सहसचिव बाहेक सबै पाण्डे समूहकै उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्योती भण्डारी (४०३) र हितमान पुन (२८२), सचिवमा गंगा पन्थी (३०७), र छायाँ पोखरेल (२९४) तथा सहसचिवमा गणेश घिमिरे (३००) र देवराज अर्गली (२९७) मत प्राप्त गरी विजयी हुनु भएको छ । केसी प्यानलबाट सहसचिवमा घिमिरे निर्वाचित हुनुभएको छ । नगर समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरु सबै सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट पाण्डे र सभापति शेरबहादुर देउवा समुहबाट केसी प्यानल सहित चुनावी मैदानमा उत्रिनु भएको थियो । नेपाली काँग्रेसको १४ औ महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबार गाउँ÷नगर अधिवेशन भएको हो ।