काठमाडौं, ९ असोज । नेपाली काँग्रेसको आशन्न १४ औं महाधिवेशन अन्तरगत आज (शनिबार) ६४ जिल्लामा पालिका तहको अधिवेशन हुंदै छ ।
केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार शनिबार ६४ जिल्लाको गाउँ र नगरपालिका अधिवेशन हुने छ । अधिवेशन बिहान १० बजेबाट शुरू हुने निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा पनि शनिबार नै अधिवेशन हुने छ । संस्थापन इतर समूहले बहुमतले अस्विकार गरेको डडेलधुराको वडा अधिवेशननै पुनः गराउन माग गरिरहेको छ ।
रुपन्देहीमा दुई समूह चुनावी मैदानमा
शनिवार हुने नेपाली काँग्रेसको गाउँनगर अधिवेशन अन्तर्गत रुपन्देहीका १६ स्थनीय तहमा पनि शनिबार अधिबेशन हुंदै छ । रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आआफ्ना समूहगत प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका छन् ।
धेरै जसो वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएपनि वडा अधिबेशनमा वडा समिति र क्षेत्रीय प्रतिनिधी भागवण्डा गरी सहमति गरिएको थियो भने कतिपय वडामा निर्वाचन बाट वडा र क्षेत्रीय प्रतिनिधी चयन गरिएको थियो । निर्वाचन भएका कतिपय वडामा देउवा समूहका हस्तीहरु प।राजित भएका छन् भने कतिपय वडामा पौडेल समूहका पराजित भएका छन् ।
शनिवार हुने पालिका स्तरको निर्वाचनमा पनि रुपन्देहीका बुटवल उपमहानगरपालिका र अन्य नगरपालिकामा देउवा समूह र पौडेल समूहले प्यानल सहित उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् बर्तमान गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला भएका कारणले रुपन्देहीको काँग्रेस निर्वाचनलाई सबैले बिशेष चासोका साथ हेरेका छन् ।
बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर र लुम्विनी सांस्कृतिक नगरपालिकामा नगरको नेतृत्वका लागि देउवा र पौडेल समूह चुवानी मैदानमा उत्रिएको छ । दुबै समूहले निर्वाचन परिणामा आफ्नो पक्षमा पार्ने तथा निर्वाचित भएपछि काँग्रेसलाई संगठित, चलायमान र एकतावद्ध बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।
रुपन्देहीको पुरानो र सबैको चासो र चर्चामा रहेको बुटवल उपमहानगरपालिकामा काँग्रेस उपमहानगरका बहालवाला सभापति खेलराज पाण्डे र रीता केसी छुटाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिनुभएको छ ।
पाण्डे पौडेल समूहबाट चुनावी मैदानमा उत्रिनुभएको छ भने केसी देउवा गुटबाट उठ्नु भएको छ । काँग्रस राजनीतिमा क्रियाशिल महिला केसी नेतृत्वको लागि नयाँ अनुहार हो । केसीलाई देउवा पक्षले महिला उम्मेद्वारका रुपमा अघि सारेको हो । पाण्डेको समूहबाट उपसभापतिमा ज्योती भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोख्रेल र गंगा पन्थी तथा सहसचिबमा देवलाल अर्गली र पुरुषोत्तम खनाल रहनुभएको छ ।
यस्तै रिता केसी समूहको उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, तथा सहसचिवमा सुदन बांस्कोटा र गणेश घिमिरे रहनु भएको छ ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणको गृह नगर तिलोत्तमामा नगरमा सभापतिको लागि पनि हरिलाल पाण्डे र नारायण न्यौपाने प्यानल सहित चुनावी मैदानमा उत्रिनुभएको छ । पाण्डे देउवा गुट र न्यौपाने पौडेल गुटबाट चुनावी मैदानमा उत्रिनुभएको छ । पाण्डेलाई गृहमन्त्री खाँणको विश्वासपात्रका रुपमा हेर्ने गरिन्छ । यसैले तिलोत्तमाको नगर निर्वाचनलाई पनि नेता कार्यकर्ताहरुले निकै अर्थपुर्ण रुपमा लिएका छन् ।

यस्तै, सैनामैना नगरपालिकामा कृष्णप्रसाद पोखरेल र रणबहादुर खनाल समूहले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेल देउवा र खनाल पौडेल पक्षबाट चुनावी मैदानमा होमिएका हुन् । पोखरेललाई केन्द्रीय नेताहरू बालकृष्ण खाँण र खनाललाई भरत शाहले साथ दिनुभएको छ ।
यस्तै सिद्धार्थनगर नगरसमिति सभापतिमा सञ्जीव शर्मा रेग्मी र कोशिसबहादुर खड्काको समूह चुनावी मैदानमा उत्रेको छ । रेग्मी पौडेल गुटका हुन् भने खड्का देउवा गुटका हुन् ।
त्यस्तै देवदह नगरमा पनि देउवा पक्षवाट गुणाखर भुर्तेल र पौडेल पक्षवाट झविन्द्र प्रसाद पाण्डे चुनाबी मैदानमा उत्रिनु भएको छ ।