बुटवल, ७ असोज । नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत यही असोज ९ गते हुने नगर अधिवेशनका लागि गाउँ\नगरपालिकाका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा र प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।
रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, लुम्विनी सांस्कृतिक नगरपालिका तथा गाउँपालिकामा चुनावी अभियानमा रहेका उम्मेदवारहरुले प्यानल सहित र एकल उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा अन्तर्गत बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेको नेतृत्वमा प्यानल सहितको उम्मेदवारी घोषणा गरिएको छ । पाण्डेको नेतृत्वको प्यानलमा उपसभापति ज्योती भण्डारी र हितमान पुन,सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरुषोत्तम खनाल रहनु भएको छ ।
पाण्डे नेपाली काँग्रेस बुटवल उपमहानगरको मौजुदा नगरसभापति हुनुहुन्छ । पाण्डेको प्यानल संस्थापन इतर पक्ष मानिन्छ । बिहिबार एक कार्यक्रमका बिच उम्मेदवारी घोषणा गर्दै नगर सभापति पदका उम्मेदवार पाण्डेले पार्टीको नगर समितिलाई थप चलायमान र शसक्त बनाउँदै सबैलाइ समेटेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
उम्मेदवारी घोषणासभा कार्यक्रमको अध्यक्षता गर्नुभएका काँग्रेसका जिल्ला सदस्य रामबहादुर कार्कीले आफुहरुले अन्तिम समय सम्म सहमतिको प्रयास गरिरहेपनि अर्को पक्ष सहमतिमा नआएर प्यानल खडा गरेपछि आफुहरुले पनि उमेदवारी घोषणा गरेको बताउनु भयो ।
सभापतिमा रिता केसीको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानगरपालिकाको सभापति पदका लागि रिता केसीले पनि प्यानल सहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।
केसीको समूहबाट उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बिहीबार बुटवलमा आयोजित उम्मेदवारी घोषणा सभामा सभापतिका उम्मेदवार केसीले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
