तिलोत्तमा, ७ असोज । नेपाली काँग्रेसको ४ औं महाधिबेशन अन्तर्गत यही असोज ९ गते हुने गाउँ\नगर अधिबेशनका लागि तिलोत्तमा नगरपालिकामा हरिलाल पाण्डेको नेतृत्वमा प्यानल सहित उम्मेदवारी घोषणा गरिएको छ । पाण्डेको नेतृत्वको प्यानलमा उपसभापति कल्याण पौडेल र माया चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा तथा सहसचिवमा रमेश पराजुली र दिपक थापाको उम्मेदवारी घोषणा गरिएको हो ।
तिलोत्तमा नगरपालिकामा पाण्डे सहित नारायण न्यौपाने र हरि प्रसाद तिवारीले पनि नगर सभापति पदका लागि यस अघि नै उम्मेदवारी घोषणा गर्नुभएको छ ।
सभापतिका उम्मेदवार पाण्डे नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका मौजुदा सभापति हुनुहुन्छ । सभापतिका उम्देवार पाण्डेले पार्टीलाइ थप गतिशील, बिस्तार र सुदृढिकरण गर्दे लैजाने, भातृ, भगिनी तथा सुभेक्षुक संस्थाहरुलाइ प्रोत्साहन गर्दै उर्जाशिल बनाउने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै उर्जावान युवा जनशक्तिलाइ स्वारोजगारमुलक गतिविधिमा लाग्ने वातावरण सृजना गर्ने, नगरको विकास, स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा एकजुट भइ नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ बिजयी गराउन महत्वपूर्ण भूमिका खेल्ने, ६÷६ महिनामा क्रियाशील भेला गर्ने, काँग्रेसको विधान अनुरुप हरेक वडामा गठन गरिएको टोल समितिलाइ गतिशिल र चलायमान बनाउन रचनात्मक कार्यक्रम ल्याउने पाण्डे नेतृत्वको प्यानलले प्रतिवद्धता गरेको छ ।
उम्मेदवारी घोषणा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा मार्फत शसक्त नेतृत्व छनौट हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रम नगर सचिव शिव गैह्रेको संचालनमा भएको हो ।