काठमाडौं, ५ असोज । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका सांसद् डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले काँग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले संसारपोष्टलाई बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले उक्त सहमति गरेको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका डा. खड्काको भोली हुने बताईएको छ ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललगायतको उपस्थिति रहेको थियो ।
नेताहरुका अनुसार अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न भोलि फेरि बैठक बस्ने छ । काँग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको ७० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा गठबन्धन सरकारको आलोचना भइरहेको छ । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गर्नुभएको थियो । काँग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्नुभएको छ भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री बन्नुभएको छ । यस्तै प्रधानमन्त्री देउवाले गत साउन १० गते काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
