कुनै पनि गतिविधि सञ्चालन गर्न रोक, ८ जना पक्राउ
बुटवल, २९ भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रभित्र कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाएको छ । सो क्षेत्रमा औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने प्रयाश भएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा कुनैपनि गतिविधि नगर्न निर्देशन जारी गर्दै हिजो देखि निषेधाज्ञा लागु गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा पर्ने उक्त क्षेत्रमा प्रशासनले निषेधाज्ञा लागू गरेसंगै सुरक्षा पनि बढाइएको छ । प्रहरीले औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना अनुसार रातको समयमा सुकुम्बासीहरुको भेला गर्ने मध्ये अहिलेसम्म ८ जनालाई प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
प्रजिअ तामाङका अनुसार आईतबार पक्राउ परेका ४ जनालाई धरौटीमा छाडिएको छ भने निष्नेधाज्ञा लागु भएपछि पक्राउ परेका ४ जनालाई कारवाही प्रक्रिया अगाडी बढाइएको छ । सो क्षेत्रमा बस्ती बसाउनका लागि हजार जनाको समूह तयार गरी सरकारसंग भिड्न तयार रहेको र बस्ने ब्यवस्था मिलाउन रसिद काट्ने कार्यमा संलग्न रहेको पाइएकोले उनीहरुलाई पक्राउ गरिएको प्रजिअ तामाङले बताउनु भयो ।
कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी तामाङले निषेधाज्ञाको उलंघन गरेमा १ लाख सम्म जरिवाना र ६ महिना सम्म कैद वा दुबै सजाय दिन सकिने व्यवस्था रहेको बताउनु भयो ।
प्रशासनले निषेधाज्ञा जारी गरी कुनै पनि गतिविधि गर्न रोक लगाईएको क्षेत्रमा पूर्व तिनाउ नदी ( बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खेतियोग्य जमिन बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ ।
