भैरहवा, २९ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नै ८ महिनाको नाबालक छोरालाई हत्या गरेको कर्तब्य ज्यान मुद्धाका दुईजनालाई पक्राउ गरेको छ । यही भदौ २६ गते राती १ बजेको समयमा जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ६ बस्ने श्रीराम मल्लाह र निजको श्रीमती रेनु मल्लाहलाई आफ्नै दुधे ८ महिनाको नाबालक छोरा सूरज मल्लाहलाई घाँटी रेटी कर्तब्य गरी मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले आफ्नो नाबालक छोराको आफ्नै घरको छतमा घांटी रेटी हत्या गरेका थिए ।
घटनाको जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली घटनास्थल गई घटनास्थलको सुक्ष्म अनुसन्धान गरी घटनास्थल र लाशजाँच मुचुल्का गरी मृत लास पोष्टमार्टमका लागि पठाएको थियो । प्रहरीले सोधपुछ गर्ने क्रममा मल्लाह दम्पतिले नाबालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपित मल्लाहको घरको छतमा अलो रगत जमेको, श्रीराम र निजको श्रीमती सुत्ने कोठाको टेबुलमा रगत लागेको हसिया, बिस्तारा तथा विद्युतको स्वीचमा रगत जस्तो रातो पदार्थ लागेको, मल्लाहकी श्रीमतीले लगाएको साडी भिजेको र साडीमा रगत जस्तो रातो पदार्थ लागेको पाइएकोले सबै प्रमाणका लागि प्रहरीले सुरक्षित बरामद गरेको छ । नाबालकको हत्यामा संलग्न रहेका श्रीराम मल्लाह र निजको श्रीमती रेनु मल्लाहलाइ सोही दिन पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट २७ गते म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । प्रवक्ता थापाका अनुसार मल्लाहको परिवारमा जग्गा सम्बन्धी विवादका कारण दैनिक कलह झै झगडा हुने गरेको र सोही कारण सो घटना भएको भन्ने बुझिएकोले अन्य थप अनुसन्धान कार्य भैरहेको छ ।
हत्या आरोपमा पक्राउ परेका मल्लाह दम्पति :
