बुटवल, २८ भदौ । अन्तशुल्क छल्ने उद्देश्यका साथ छापिएको नक्कली स्टिकर बरामद भएको करिब १ महिनामा बल्ल राजस्व अनुसन्धान कार्यालयले अनुसन्धानमा तत्परता देखाएको छ ।
रुपन्देहीको तिलोत्तमामा रहेको क्रिष्टल बोटलर्स पछि अनुसन्धान कार्यालयले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको माउण्ट एभरेष्ट डिष्टिलरी प्रा. लि. लाई पनि अनुसन्धानको दायरामा ल्याएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले आईतवार सो उद्योगमा चेकजाँच गरी उद्योग संग सम्बन्धित कागजात र कम्प्युटर सिपीयु नियन्त्रणमा लिएको छ । माउण्ट एभरेष्ट डिष्टिलरी प्रा.लि.मा पुगेको राजस्वको टोलीले सञ्चारकर्मीलाई भित्र पस्न निषेध गरेको थियो भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिन नमिल्ने भन्दै कार्यालयका प्रतिनिधी पन्छिएका थिए ।
राजस्व अनुसन्धान कार्यालयका प्रतिनिधिले कुनै प्रतिक्रिया नदिए पनि माउण्ट एभरेष्ट डिष्टिलरी प्रा.लि.का सञ्चालक प्रविन्द्र गोविन्द श्रेष्ठले राजस्व अनुसन्धान कार्यालय बुटवलको टोली नक्कली स्टिकरको बिषयमा अनुसन्धान गर्न र नियमित चेकजाँचको क्रममा उद्योगमा आएको बताउनु भयो ।
‘अहिले बजारमा नक्कली स्टिकरको चर्चा छ । यस बिषयमा अनुसन्धान हुनु स्वभाविक हो ।’ श्रेष्ठले भन्नुभयो– ‘यसै बिषयमा राजस्व अनुसन्धान कार्यालयको टोली उद्योगमा आएको थियो । हामीले टोली लाई सहयोग गर्दै सबै हिसाब किताब स्पष्ट पारेका छौं ।’
उद्योगी श्रेष्ठले थप अनुसन्धानको सिलसिलामा उद्योगका कागजपत्र र सिपियु राजश्वको टोलीले लगेको बताउनु भयो । भोली कार्यालय समयमा कार्यालयमै बोलाउनु भएको छ सम्भवतःभोलीनै सबै स्पष्ट हुन्छ उहांले भन्नु भयो । राजश्व टोलीले लगेको उद्योगको कागजपत्र र सिपियु फिर्ता नआए सम्म उद्योगको उत्पादन बन्द रहने पनि श्रेष्ठले जानकारी दिनुभयो ।
रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो । लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकर सहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए । शसस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) बरामद गरेको थियो ।
शसस्त्र प्रहरीले नक्कली स्टिकर बरामद गरेर राजश्व कार्यालय बुटवलमा बुझाए पनि यसको अनुसन्धानमा राजश्व कार्यालयले खासै चासो दिएको थिएन । मदिरा उद्योगमा आन्तरिक राजश्व कार्यालयको ईकाइ कार्यालय राखेर एकजना कर्मचारी नै खटाउने व्यवस्था छ । कर्मचारीकै प्रत्यक्ष निर्देशनमा अन्तशुल्कका स्टिकर टाँस्ने र निकासीका लागि राजश्व तिरेर आएपछि सोही कर्मचारीको रोहवरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी प्रावधान छ ।
आन्तरिक राजश्व कार्यालयका कर्मचारीकै मिलेमतो विना उद्योगले नक्कली स्टिकर र नक्कली मदिरा बनाउन सम्भव नहुने जानकारहरु बताउँछन् ।
