फोहोरको प्रकृति छुट्टाएर प्रशोधन गरी मल र वायोग्यास निकालिने
बुटवल, २७ भदौ । फोहोरको प्रभावकारी र दीर्घकालीन व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले विशेष अवधारणा अगाडि सारेको छ । कुहिने र नकुहिने फोहोरलाई अलग अलग गरेर व्यवस्थापन गरिने भएको छ ।
फोहोरको प्रकृत्ति अलग अलग गरेर जैविक मल बनाउने र उपयोग गर्ने बारेमा नागरिकको समेत चासो नगइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले नयाँ अवधारणाका साथ काम अगाडि बढाइरहेको छ ।
खासगरी बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा शून्य फोहोरको अवधारणाका साथ यस्तो कामको थालनी भएको छ । अबको केही महिनामै यो काम सुरु हुने तयारी छ ।
यी दुई नगरको तयारी छिमेकका अरु पालिकासमेत समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने रहेको छ । केन्द्रमा फेहोरको प्रकृत्ति अलग अलग गरेर प्रशोधन गर्ने, मल निकाल्ने, बायोग्यास निकाल्नेलगायतका प्लान्ट जडान गरिनेछन् । यस्का लागि जग्गाको व्यवस्था भइसकेको छ । उक्त जग्गामा प्राविधिकहरु र वातावरणविद्हरु लगेर अध्ययन गराउनेदेखि वैकल्पिक उर्जा र जैविक मलका जानकारहरुसंग कैयांैंपटक विषय केन्द्रित छलफल भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन समेत गराएर थप प्राविधिक अध्ययनपछि प्लान्ट निर्माण गर्ने तयारी छ ।
काम सुरु नहुँदै विरोध हुने र कुरै नबुझी विरोधका लागि विरोध गर्ने, भड्काउने प्रवृत्तिलाई मध्येनजर गरेर यो योजना बस्तीभन्दा टाढा र उपयुक्त स्थानमा रहेको बताइएको छ । झण्डै १६ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना सुरु भएपनि विरोध मात्रै गरिरहने प्रवृत्तिका कारणले पूरा हुन नसकिरहेका बेलामा बुटवल र सैनामैनाले यसपटक भने प्रभावकारी र योजनाबद्ध कामको थालनी गरेका छन् । खासमा अहिले जनप्रतिनिधि निर्वाचित भएपछि आवधिक र दीर्घकालीन महत्वका योजना बनाएपछि फोहोर व्यवस्थापनको काम प्राथमिकतामा परेको हो ।
फोहोरमैलालाई जैविक र अजैविक छुट्याई कम्पोष्ट मल तयार गर्ने एवं वैकल्पिक ऊर्जासमेत उत्पादन गर्ने योजनाका साथ बुटवल, सैनामैना, कञ्चन गाउँपालिकाका बीचमा छलफल चलिरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । ‘यस्को उपयुक्त केन्द्र खोजि भइरहेको छ र प्रस्तावित जग्गामा प्राविधिक अध्ययन भइरहेको छ’ प्रमुख सुवेदीले भन्नुभयो–‘अब फोहोर उठाउने फाल्ने र पुर्ने वा जलाउने गरेर होइन, उचित प्रशोधन गरेर बहुउपयोग गरिने छ ।’
बुटवलसहित अरु छिमेकका पालिकामा उत्पादन हुने सड्ने र नसड्ने फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि प्रभावकारी पहल जरुरी रहेकाले आफुहरुले विज्ञहरु सित अध्ययन गरिरहेको प्रमुख सुवेदीले बताउनुभयो । उहाँले लगानीका लागि सार्वजनिक, निजी र सहकारीको माध्यम अपनाउन सकिने गरि छलफल जारी रहेको पनि उल्लेख गर्नुभयो ।
प्रस्तावित प्रशोधन केन्द्रका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर, वातावरणका विज्ञ तथा परामर्शदाता सहितको विशेष टोलीले विस्तृत अध्ययन गरेको थियो । विज्ञहरुसहित पालिकाका बीचमा पनि छलफल चलिरहेको र तयारी अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । ‘फोहोर थुपार्ने भन्दा पनि फोहोरलाई प्रशोधन गरेर बहुउपयोगमा ल्याउने गरी प्रशोधन केन्द्रको स्थापना गर्ने हो, यस्तो प्रशोधन केन्द्र विश्वका धेरै मुलुकमा प्रभावकारी रहेको पाइएको छ । प्रमुख कार्कीले भन्नुभयो– ‘त्यस्तै प्रविधिको प्रयोग गरेर फोहोरको आधुनिक व्यवस्थापन गरिने छ ।’
अब घरबाटै फोहोरलाई वर्गीकरण गराइने र त्यसका लागि समुदायस्तरमा सचेतनाका समेत कार्यक्रम गरिने छ । केन्द्रमा जैविक फोहोरबाट जैविक मल देखि बायोग्यास निकाल्नेसम्मको प्रविधि जडान गर्नेबारेमा अध्ययन भइरहेको सैनामैना नगरपालिकाका प्रमुख कार्कीको भनाइ छ । यसका बारेमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा विभिन्न चरणका छलफलहरु भएका छन् । त्यस्ता छलफलमा वैकल्पिक उर्जाका जानकार, विषयविज्ञहरु र अन्य क्षेत्रका विज्ञहरुसमेत दुबै पालिकाका जनप्रतिनिधि र अधिकारी सहभागी हुँदै आएका छन् ।
प्रशोधन केन्द्र सञ्चालनमा आएका अरु क्षेत्रको अवस्था र यहाँको सम्भावनालाई समेत तुलना गरेर छलफल तथा अध्ययन गरि काम अगाडि बढाइएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । कुहिने तथा नकुहिने फोहर छुट्याउने, सुरक्षित ढुवानी गर्ने र त्यसलाई प्रशोधन केन्द्रमा लगेर प्राङ्गारिक मल बनाउने बारेमा समुदायस्तरमा पनि सचेतनाका कार्यक्रम गरिने प्रवक्ता रेग्मीको भनाइ छ ।
वातावरणका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै र चासो राख्दै आउनुभएका विषयविज्ञ युवराज कंडेलले सहरमा ठूलो परिमाणमा फोहरमैला उत्पादन हुने गरेको तर त्यसको बहुउपयोग हुन नसकिरहेको अवस्थामा प्रशोधन केन्द्रमार्फत फोहोरको उचित व्यवस्थापन हुनु सकारात्मक रहेको बताउनुभयो । बोरामा हालेर, झोलामा हालेर फोहोर फाल्ने प्रवृत्तिलाई रोक्नैपर्ने उहाँको भनाइ छ ।
वातावरण तथा पर्यावरणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका वातावरण विज्ञ चक्रपाणी शर्माले अब फोहोरको प्रकृत्ति छुट्टाएर जैविक मल उत्पादन गर्ने तथा वायो ग्यास निकाल्ने कामको विकल्प नरहेको बताउनुहुन्छ ।
प्राङ्गारिक मलसमेत उत्पादन हुने भएकाले यस क्षेत्रका किसानलाई स्वस्थ र अग्र्यानिक तरकारी वा कृषिजन्य उपभोग्य वस्तु उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । तराईका सहरमा जनघनत्वसंगै बढेको फोहोर व्यवस्थापनको पेचिलो विषय समाधान नहुँदा अनेकौं समस्या उत्पन्न भएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले फोहोरको दीर्घकालीन व्यवस्थापनमा पालिकाहरुको सहकार्यलाई प्रभावकारी बनाइने बताउनुभयो ।
फोहोर व्यवस्थापनमा बुटवलमा भएका पहल
बुटवल उपमहानगरका १९ वटै वडाहरुलाई समेट्ने गरी प्रभावकारी व्यवस्थापनको खाँचो छ । यसअघि कैयौं वर्षदेखि कुरा भएपनि सार्थकता पाउन सकिरहेको छैन । एशियाली विकास बैंक (एडीबी) को सहयोगमा व्यवस्थापनको पहल भयो तर अगाडि बढ्न सकेन । यहाँ दैनिक ५३ टन फोहोर संकलन हुने गरेको छ । यो बढ्दो क्रममा छ । एडीबीको सहयोगमा दैनिक ८३ टन फोहोर प्रशोधन गर्ने योजना थियो । त्यसका लागि बुटवल ७ मा रहेको शिवनगर सामुदायिक वनको करिब ५ हेक्टर जमिन छनोट गरिएको थियो । ३७ करोड रुपैयाँ लगानी हुने प्रशोधन केन्द्रको निर्माण सन् २०१० मा सुरु भएर सन् २०१५ को डिसेम्बरमा सकिनुपर्ने सम्झौता थियो । सुरुमा वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पारित नहुँदा लम्बिएको थियो । ईआईए अनुसार उपमहानगरपालिकाले वनको सट्टा पाल्पाको साबिक तेल्घा गाविसमा ९५ रोपनी किनेर संरक्षण गरी वृक्षरोपण गरेको छ । त्यहाँ अहिले हरियो जंगल बनिसकेको छ । त्यसपछि सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी–पप्पु जेभीसँग २८ करोड ९५ लाख ६६ हजार रुपैयाँमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । फिल्ड स्तरको काम सुरु गर्न लाग्दा आफ्नो नजिकमा प्रशोधन केन्द्र राख्न नदिने भन्दै छिमेकी देवदह नगरपालिकाको चरंगेका स्थानीय बासिन्दा विरोधमा उत्रिए । दुवै स्थानीय तह बसेर सम्झाउँदा पनि स्थानीयका नाममा विरोध भइरह्यो । आयोजना अगाडि बढेन । अहिले जनप्रतिनिधि चुनिएपछि अब वैकल्पिक क्षेत्रको खोजी गर्दै दीर्घकालीन व्यवस्थापनको काम सुरु भएको छ ।
कति संकलन हुन्छ फोहोर ?
बुटवलमा ६० टन, सैनामैनामा ३५ टन र कञ्चन गाउँपालिकामा २० टन फोहोर दैनिक रुपमा संकलन हुँदै आएको छ । जुन फोहोरमध्ये करिब ७० प्रतिशत कुहिने रहेको फोहोरको व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएका बुटवलका उद्यमी बलभद्र पुरीको भनाइ छ । ३० प्रतिशत नकुहिने तथा पुनःप्रशोधन गर्न मिल्ने खालको फोहोरलाई पनि घरैदेखि प्रकृत्ति छुट्टाउन सकियो भने पुन प्रयोग गर्न सकिने पुरी बताउनुहुन्छ । प्रशोधन केन्द्र नहुँदा अहिले उपमहानगरसहित यहाँका पालिकाहरुले सबै फोहोर एकै ठाउँमा फाल्दै आएका छन् ।
प्रस्तावित जग्गामा तारबार गरिदै :