बुटवल, २७ भदौ । रोटरी क्लव अव बुटवलमा प्रवेश गर्ने नयाँ सदस्यहरुको क्लव इन्डक्सन कार्यक्रम एवं १३८१ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।
क्लव इन्डक्सन कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजूले रोटरी विश्वभर सञ्जाल भएको सामाजिक संस्था भएको चर्चा गर्दै रोटरी क्लव अफ बुटवलले पनि सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको बताउनु भयो । उहाँले क्लवमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई क्लवले लिएको लक्ष्य र उद्देश्य अनुरुप स्वार्थ भन्दा माथि उठेर सेवाभावमा सहकार्य गर्न आग्रह गर्नुभयो ।
यो वर्ष रोटरी क्लव अफ बुटवलमा १५ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । उनीहरुका बारेमा रोटरीयन रोम शर्माले विवरण प्रस्तुत गर्नुभएको थियो । नयाँ सदस्यता प्राप्त गर्नेहरुमा चुरामणि भुसाल, हेमलाल शर्मा भुसाल, इन्द्र भुसाल, विष्णु काफ्ले, रितु खनाल, गणेशप्रसाद ज्ञवाली, लोकराज पनेरु, लालमणि पन्थी, बुद्धिमान थापा, गोविन्दप्रसाद गैरे, दिपक प्रसाद श्रेष्ठ, राजु पुन, अर्जुन खनाल, नवराज बन्जाडे र दिपेशकुमार अग्रहरी रहेका छन् । नयाँ सदस्यहरुको इन्डक्शनसँगै अव रोटरी क्लव अफ बुटवल १२१ सदस्यीय भएको छ । सदस्य संख्याको हिसावले रोटरी क्लव अफ बुटवल डिष्ट्रिक ३२९२ मा सबैभन्दा ठूलो क्लव बन्न सफल भएको छ ।
क्लवमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई रोटरीको पिन प्रदान गरिएको थियो । रोटरी क्लव अफ बुटवलका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष रामप्रसाद खरेल, क्लवका निवर्तमान अध्यक्ष सुनिल श्रेष्ठ, पुर्व अध्यक्ष राजेन्द्र लम्साललगायतले रोटरीको लक्ष्य, उद्देश्य, सामाजिक क्षेत्रमा यसले खेलेको भूमिका, अन्तर्राष्ट्रियस्तरमा यसको सञ्जाल लगायतका बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अध्यक्ष उपाध्याय, प्रेसिडेन्ट इलेक्ट बोनिन पिया, सचिव खिमनारायण पराजुली लगायतले रोटरीले स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गरेको सेवाकार्यको चर्चा गर्दै सबै मानिसले स्वार्थभन्दा माथि उठेर समाजका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यस अवसरमा ट्वीन क्लवको रुपमा सहभागिता जनाएका रोटरी क्लव अफ त्रिपुरेश्वरका चार्टड प्रेसिडेन्ट सन्तोष शर्माले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा अर्को ट्वीन क्लव रोटरी क्लव अफ काठमाडौं डाउनटाउनका पदाधिकारीको पनि सहभागिता थियो ।
त्यस्तै कार्यक्रममा नयाँ सदस्यको रुपमा प्रवेश गरेका लोकराज पनेरु र राजु पुनले सामाजिक सेवाभावप्रतिको उत्कट आकांक्षाले नै आफूहरु रोटरीमा प्रवेश गरेको र अग्रजहरुबाट सिकेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो ।