बुटवल, २३ भदौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथी बन्चरो प्रहार गरेजस्तै भएको टिप्पणी गर्नु भएको छ ।
‘यो गम्भीर अपराध हो, यसलाई इतिहासले माफ गर्दैन,’ पौडेलले भन्नु भयो, ‘विभाजन सिद्धान्त र एजेण्डाका आधारमा भएको होइन, औचित्य पुष्टि हुन सक्दैन ।
नेकपा एमालेमा समन्वयकारी नेता भनेर चिनिने नेता पौडेलले बुटवलमा प्रदेश कमिटिको बैठकका निर्णय सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा माधव नेपालसँगको आक्रोस पोख्दै नेकपा एकिकृत समाजवादी पार्टी गठन गर्नुभएका नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिनुभयो । उहांले यो विभाजनले नेकपा एमालेलाई कुनै असर नगर्ने जिकिर गर्नुभयो । कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले आरोप लगाउनु भयो ।
‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गरिएको छ,’ पौडेलले भन्नुभयो, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुहोस् । एमालेभित्रको विवादका सन्दर्भमा १० बुँदे सम्झौता कार्यान्वयन गर्ने उहाँको भनाई थियो ।
उपमहासचिव पौडेलले चौतर्फी आलोचना भैरहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताउनु भयो । ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भन्नुभयो ।
सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको उल्लेख गर्नुभयो ।
एमाले लुम्बिनी प्रदेशको बैठकले गरेका निर्णय सार्वजनिक कार्यक्रममा ओली पक्षका नेताहरुको मात्रै सहभागिता रहेको थियो । नेपाल समूहमा लागेर अध्यक्ष ओली विरुद्ध संघर्ष गरेका अर्का उपमहासचिव घनश्याम भुसाल र बैठकमा सहभागि माओवादी केन्द्र छोडी एमाले प्रवेस गरेका टोप बहादुर रायमाझी भने पत्रकार सम्मेलनमा आउनुभएन । एमाले विभाजनको बाछिटो लुम्बिनीमा नपरेको र एमाले एकताबद्ध भएको भनिए पनि घनश्याम भुसाल किन आउनुभएन भन्ने पत्रकारहरुको प्रश्नमा नेता पौडेलले केही दिन पछि हसिलो मुहारमा उहांलाई देख्न सक्नु हुनेछ भन्नुभयो ।
एमाले विभाजनपछि लुम्बिनीका नेता कार्यकर्ता जोगाउने गरि उपमहासचिव पौडेल बुटवल आउनुभएको हो । एमाले जेठ २, २०७५ मा फर्कने भनेपनि एमालेका नेताले भने यसबारे अझै स्पष्ट जवाफ दिइसकेका छैनन् ।
