बुटवल, २२ भदौ । नव जागृति पुस्तकालय बुटवल रुपन्देहीले साहित्यकार पुरुषोत्तम पाण्डेयलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । युवाकवि मोतिराम भट्टको १५६ औँ जन्मजयन्तीको अवसरमा पुस्तकालयले एक कार्यक्रमको आयोजना गरी युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार–२०७८ द्वारा साहित्यकार पाण्डेयलाई रु. पाँच हजार पाँच नगदसहित सम्मान गरेको हो ।
पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधव घिमिरको नाममा ६ वटा साहित्यिक पुरस्कार स्थापना गरेको छ । पुस्तकालयले यी पुरस्कार कविहरूको जन्मजयन्तीका अवसरमा प्रदान गर्ने गरेको छ ।
यस वर्षदेखि सुरुवात गरिएका पुरस्कारहरूमध्ये यसअघि असार २९ गते आदिकवि भानुभक्त आचार्य पुरस्कार वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीलाई प्रदान गरिएको थियो ।
नव जागृति पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार कृष्णप्रसाद कोइराला, पुस्तकालयका वरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडललगायतले पुस्तकालयले साहित्य क्षेत्रमा गरेका योगदान र पूसत्कालयले स्थापना गरेका पुरस्कारका बारेमा जानकारी गराउनु भएको थियो । प्रा.डा. हिरण्यलाल ज्ञवालीले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गर्दै सम्मानित स्रष्टाको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विश्व हिन्दु महासंघ नगर समिति अध्यक्ष चन्द्रमान श्रेष्ठ, पुरस्कार छनोट समितिकी सदस्य अम्बिका पौडेल क्षेत्री र उर्मिला श्रेष्ठले आआफ्ना भनाई राख्नुभएको थियो ।
