भैरहवा, २० भदौ । लायन्स क्लब अफ बुटवल सनसाईनले जिल्लाको ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले आवश्यक सामग्री रेडियो सहयोग गरेको छ । पश्चिम पहुनी माध्यामिक विद्यालयका ४२ जना विद्यार्थीहरुलाई एक एक सेट रेडियो प्रदान गरिएको बुटवल सनसाईनका अध्यक्ष आरती खरालले बताउनुभयो ।
कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थित भएर विद्यालयले पठनपाठन सन्चालन गर्न नसकेको र यस्तो अवस्थामा ल्यापटप तथा मोबाइल मार्फत अनलाईन कक्षा पनि लिन असमर्थ भएका विद्यार्र्थीहरुका लागि रिड नेपालले चलाएको रेडियो शिक्षा कार्यक्रममा सहभागि हुन सजिलो होस् भनेर रेडियो सहयोग गरेको अध्यक्ष खरालले बताउनु भयो । ‘विपन्न परिवारका धेरै विद्यार्थिले रेडियो समेत किन्न नसक्दा उक्त शिक्षा लिन पनि बञ्चित भएको खबर पाएसंगै हामीले रेडियो किनेर विद्यार्थीलाई बितरण गरेका हौं ।’ उहांले भन्नुभयो ।
रेडियो पाएसंगै कक्षा ४ देखि कक्षा ८ सम्म सो विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । बिक्रम सम्वत २०१६ सालमा स्थापना भएको पश्चिम पहुनी मावि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पूर्व पहुनीमा रहेको छ । उक्त विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापनले विभिन्न संघसंस्थासँग सहकार्य समेत गर्दै आएको छ ।
विद्यालयका प्रधानाध्यापक दुर्गा नारायण श्रेष्ठले लायन्स क्लब अफ बुटवल सनसाईनको सहयोगले विद्यार्थीको एक घर एक रेडियो अभियानलाई टेवा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले विद्यार्थीको पठनपाठन गराउने विभिन्न विधी अपनाएका छौं । कक्षा ४ सम्म टोलटोलमा पुगेर शिक्षकले होमवर्क दिने गरेका छन् भने कक्षा ५ देखि माथि अनलाईन कक्षा चलाईएको छ । कक्षा ५, ६ र ७ का धेरै विद्यार्थी अनलाईनमा आउन सकेनन् भने कक्षा ८, ९ र १० का ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागि छन् ।’
प्रधानाध्यापक श्रेष्ठका अनुसार रिड नेपालले तिलोतमा नगरपालिका भित्र १९ विद्यालयमा मेरो रेडियो, मेरो भविष्य कार्यक्रम सञ्चालन गरेको छ । इन्टरनेट, मोबाईल, ल्यापटप किनेर अनलाईन कक्षामा सहभागि हुन नसकेका विद्यार्थीकोलागि उक्त कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।
लायन्स क्लब अफ बुटवल सनसाईनले ४२ थान रेडियो सहयोग गरेसंगै पश्चिम पहुनीमा अध्ययनरत करिब सबै विद्यार्थी पठनपाठनबाट बन्चित नहुने देखिएको छ ।
रिड नेपालले रेडियो कार्यक्रम शुरु गरेसंगै १५ थान रेडियो दिएको थियो । विद्यालयले ५ थान थपेर शुरुमा २१ थान रेडियो बितरण गर्यो । त्यसपछि रोटरी क्लब अफ बुटवल चौतारीले ४० थान रेडियो सामाग्री दियो भने शनिबार ४२ थान रेडियो लायन्स क्लब अफ बुटवल सनसाइनले सहयोग प्रदान गरेको छ । रेडियोमा विहान ८ बजेदेखि ९ बजे सम्म र सांझ साढे ५ बजेदेखि साढे ६ बजे सम्म रेडियो कार्यक्रम पाठ्यक्रममा आधारित भएर सन्चालन हुने गर्दछ ।
रेडियो हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ वि २ का भाईस डिष्स्ट्रिक गभर्नर नवराज न्यौपानेले शिक्षाको क्षेत्रमा लायन्स क्लब अफ बुटवल सनसाईनले गरेको सहयोग महत्वपुर्ण भएको बताउनुभयो । आर्थिक अभावको कारण अनलाइन कक्षा लिन नसकेका र रेडियो समेत किन्न नसकेकै कारण धेरै विद्यार्थि पढाईबाट बन्चित भएको अवस्थामा बुटवल सनसाईनले गरेको सहयोगको जति प्रशंसा गरेपनि कम हुने उहांले बताउनु भयो ।
लायन्स क्लब अफ ३२५ बि २ का प्रमुख सल्लाहकार उमंग देवकोटाले कोभिडका कारण समग्र क्षेत्र प्रभावित भईरहेको बेला सबैभन्दा बढी असर विद्यालयमा परेको बताउदैं महंगो नेट, महंगो मोबाइल वा ल्यापटप किनेर आफ्ना बालबालिकालाई पढाउन नसकेका मजदुर तथा गरिब परिवारका बालबालिकाको पढाईमा सहयोग पुराउने कार्यमा लायन्स क्लब अफ बुटवल सनसाईनले गरेको सहयोग शिक्षाको क्षेत्रमा अतुलनिय रहने बताउनुभयो ।
रेडियो हस्तान्तरण कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्र्थीको पठनपाठनमा सहयोग पुराउनेगरी गरेको सहयोग उल्लेखनीय भएको बताउनुभयो ।
लायन्स क्लब अफ बुटवल सनसाईन स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रको समुदायमा रहेर सेवा गरिरहेको क्लबको संस्थापक अध्यक्ष जमुना पान्डेले बताउनुभयो । गीता न्यौपानेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापा, बुटवल सनसाईनका प्रथम उपाध्यक्ष रश्मी अर्याल, सचिव संकल्प हमाल लगायतले बोल्दै रेडियो माध्यमबाट चलिरहेको पठनपाठनलाई उपयोग गर्नेगरी लायन्स क्लब अफ बुटवल सनसाईनले सहयोग गरेको बताउनुभयो ।
