पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल पूर्वको सडक अवरुद्ध
बुटवल, १४ भदौ । अबिरल वर्षासंगै खसेको पहिरो र पहिरोसँगै बगेको लेदोले बुटवल उपमहानगरपालिका वडा नम्बर ३, ज्योतिनगरमा क्षति पु¥याउने क्रम जारी रहेको छ । आईतवार सम्म दुई दर्जन बढी घरमा पसेको पहिरो सहितको लेदो सोमवार थप ७ घर भित्र पसेको छ ।
वर्षा नरोकिएकाले सोमबार पनि वस्तीमा पहिरो झरेको हो । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको र अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी गराउनु भयो । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ । पहिरोबाट विस्थापित धेरैजसोले आफन्तकोमा आश्रय लिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।
ज्योतिनगर क्षेत्रलाई बुटवल उपमहानगरले असुरक्षित क्षेत्र घोषणा गरी सुरक्षित हुन आग्रह गरेको तर अटेर गर्दा क्षति भएको प्रवक्ता रेग्मीले बताउनुभयो । ज्योतिनगरमा २३ वर्षअघि गएको पहिरोका कारण ५७ घरमा क्षति भएको थियो । २०५५ साल भदौ २० गते पहिरो खस्दा क्षती पुगेका ५७ घरका परिवार सहित पहिरोबाट विस्थापितहरुलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो । तर पछि बिस्तारै सो ठाउंमा पुन: वस्ती बसेको थियो । पहिरोले पुरिएका घर मध्ये केही वनको जग्गामा बनेका थिए भने केही जग्गाधनी पुर्जा प्राप्त जग्गा भएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
पहिरो नरोकिए बुटवलको गोलपार्क र ट्राफिकचोक क्षेत्रसम्म क्षति पुग्न सक्ने जोखिम रहेको वातावरण विज्ञहरुको भनाई छ । भूगोल विषयका प्राध्यापक डा. भोजराज कडेरियाले बुटवलको ज्योतिनगर पहिरोको उच्च जोखिमयुक्त क्षेत्र भएकाले त्यहांको वस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने बताउनुभयो । वन क्षेत्र अतिक्रमण गरी पक्की घरहरु बनाइंदा र वातावरणीय पक्षलाई बेवास्ता गरी सडक, विद्युत, खानेपानी पुर्वाधार विस्तार हुंदा चुरे क्षेत्र खल्बलिएर कमजोर बन्न पुगेको कडेरियाले बताउनु भयो । ‘चुरे संरक्षण नगर्ने हो भने त्यसले सिंगो बुटवल नै जोखिममा पर्छ’–उहांले भन्नुभयो ।
यसैबीच पहिरोले पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक बन्द भएको छ । नवलपरासीको बर्दघाट नगरपालिकामा पर्ने दाउन्ने पहाडमा पहिरो जांदा सोमबार दिउसोदेखि सडक अवरुद्ध भएको हो । यसअघि सोही राजमार्ग अन्तर्गत सुनवलको तुरिया र घोडाहा पुल भासिंदा सवारी साधन चल्न सकेका थिएनन् । बुटवलबाट पुर्वतर्फ जाने सवारी साधनहरु भैरहवा परासी हुंदै सञ्चालन भएका थिए । तर दाउन्नेमा पहिरो गएपछि भने पुर्व पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ ।
यस्तै प्युठान रोल्पा सडक खण्ड अन्तर्गत प्युठानको स्वर्गद्वारी नगरपालिका–४ गच्चीबाङमा पहिरो जांदा उक्त सडक खण्ड दिउसो देखि अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै रोल्पाको होलेरी सडक पनि सोमबार बिहानैदेखि पहिरोका कारण अवरुद्ध बनेको छ । त्रिवेणी गाउँपालिका वडा नंं २ भांगोबारीमा पहिरो जांदा सडक अवरुद्ध भएको हो ।