बुटवल, १३ भदौ । लगातारको वर्षाका कारण रुपन्देहीको बुटवल उपमहानगरपालिकाको ज्योतिनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासका १९ बढी घरहरुमा क्षति पुगेको छ । पहिरोकै कारण दर्जनौं घरहरु जोखिममा परेका छन् ।
माथिवाट खसेको पहिरो र पहिरोसँगै बगेको लेदो नगरका अधिकांश घरभित्रै पसेको छ । पहिरो आउने क्रम जारी रहेकाले बस्तीमा थप जोखिम हुने देखिएको छ । उच्च जोखिममा रहेको स्थानीयलाई स्थानीय प्रशासनले बुटवल बहुमुखी क्याम्पसमा सारेको ।
आइतबार बिहानैदेखि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जोखिममा परेका र घर भित्रै बाढी पसेकाहरुलाई उद्दार गरेको थियो । एकतले घर भएका स्थानीयको खाद्यान्न र लत्ताकपडा बाढीले पुरेको छ भने अग्लाघरुहरुमा समेत तल्लो तलामा पहिरोले असर गरेको छ । सोही स्थानमा अघिल्लो वर्ष बाढी र पहिरोका कारण केहि घर भत्किनुका साथै पशु चौपायासमेत पहिरोमा पुरिएका थिए ।
विसं २०५५ साल भदौ २० गते पनि ज्योतिनगर क्षेत्रमै पहिरो खसेको थियो । त्यसबेलामा पहिरोबाट ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती समेत दिएको थियो ।
