बुटवल, १३ भदौ । रुपन्देही सामाजिक संजाल अष्टे«लियाले बुटवलको सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा अस्पताल)मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसियु कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ ।
संजालले ७ लाख ४६ हजार ५० रुपैयाँ वरावरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतिक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिनुभयो । आईतवार एक कार्यक्रमकाविच संजालका प्रतिनिधि कांशीनाथ पोख्रेलले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र प्रसाद वस्याललाई मोनिटर हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र प्रसाद वस्यालले जापानी जनताको सहयोगमा निर्माण भएको अस्पताल अहिले आन्तरिक तथा वाह्य सहयोगबाट संचालनमा रहेको बताउनुभयो । उहांले अष्ट्रेलियामा रहेका नेपालीहरुबाट अस्पतालमा सहयोग पाउंदा निकै खुशी लागेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा संजालका अध्यक्ष इश्वर पोखरेलले विरामीले उपचार सेवा पाउने संस्थालाई सहयोग गर्न पाउंदा खुशी लागेको बताउनु भयो । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एक एक रुपैयाँ गरी संकलन गरिएको सहयोग राशीले विरामीको उपचारमा सहयोग पु्ग्ने उहांको विश्वास छ । उहांले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा संजालका महासचिव दिवाकर काफ्लेले संजालले अहिले सम्म गरेको कार्यको वारेमा जानकारी दिदै कर्मको लागि विदेशी भूमिमा रहेपनि आफ्नो मुलुकको माया लागेर नै सहयोग कार्यलाई जारी राखिएको बताउनु भयो ।
आम्दा अस्पतालका प्रशासन प्रमुख धु्रव श्रेष्ठको संचालनमा भएको उक्त कार्यक्रममा जुम मार्फत अस्ट्रेलियाका संचालक पदाधिकारी तथा सदस्यहरु जोडिएका थिए । सन २०१५ मा स्थापना भएको उक्त संजालले कोभिड प्रभावितहरुलाई राहत वितरण, तिलोत्तमामा यौन हिंसामा परेका वालिकालाई सहयोग, क्यान्सर पिडितहरुलाई सहयोग, भुकम्प पीडितहरुलाई एनआरएन मार्फत सहयोग, मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रम तथा नेपाल अपाङ्ग आश्रममा सहयोग गर्दै आएको छ ।