काठमाडौं, १० भदौ । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
मुख्यमन्त्री हेरफेर हुनुअघि नेकपा एमाले संसदीय दलले आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो । मुख्यमन्त्री राईले मुख्यमन्त्री र दलको नेताबाट राजीनामा दिएपछि आज(बिहीबार) बिहान बसेको संसदीय दलको बैठकले नेता आचार्यलाई दलको नेता चयन गरेको थियो ।
प्रदेशसभामा एमालेका प्रष्ट बहुमत भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा (१६८ –१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएसंगै आचार्यले मुख्यमन्त्रीको सपथग्रहण समेत गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो ।