बुटवल, ५ भदौ । नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफु स्वतन्त्र भएको बताउनु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टिकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको मन्त्री शाहीले बताउनु भयो ।
शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदयस त्रिपाठीको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सूर्य चिन्ह प्रयोग गरि स्वतन्त्र रुपमै चुनाव जितेको स्पष्ट पार्नुभयो । नवलपरासीबाट निर्वाचित सांसद शाहीले भन्नुभयो–‘निर्वाचन प्रयोजनका लागि मात्र सूर्य चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले अहिलेसम्म नेकपा एमालेको सदस्यता लिएको छैन ।’ राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार आफु एमाले संसदीय दलको सदस्य नभएको शाहीले स्पष्ट पार्नु भयो ।
यता नेकपा एमाले लुम्बिनीले भने प्रदेशसभा विधि र कानून सम्मत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताएको छ । साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने बताउनु भयो ।
‘सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरेर निर्वाचन जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै हुने र एमालेका सांसदलाई प्रतिपक्षीदलले मन्त्री बनाउदा सभामुखले कारवाही नगरी राजनीतिक पुर्वाग्रह राख्नु विधि सम्वत छैन । मन्त्री बनेका एमाले सासंदलाई कारवाही नभएसम्म एमालेले संसद अवरुद्ध गर्छ ।’
समस्या समाधान गर्न सभामुखलाई सुझाव
लुम्बिनी प्रदेश सभा भित्रको किचलो छिटो भन्दा छिटो समाधान गर्न कानुनविद्हरुले सभामुखलाई सुझाव दिएका छन् । साक्षात्कारमा बोल्दै कानुनविद्हरुले संविधानको राम्ररी अध्ययन गरि छिटो छरितो निकास दिन सभामुखलाई सुझाव दिएका हुन् ।
कार्यक्रममा कानुनविद महेन्द्र पाण्डेले अजय शाही हुदयस त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट तत्कालिन नेकपासंग तालमेल गरी सूर्य चिन्ह लिएर सांसदमा निर्वाचित भए पनि हैसियत र त्यो बेलाको सहमतिका बुंदाको हिसावले शाही स्वतन्त्र रहेको बताउनु भयो । उहांले शाही स्वतन्त्र हैसियतबाट निर्वाचन लडेर निर्वाचित भएकाले र निर्वाचनका बेला भएको सहमतिका आधारमा शाहीको एमालेसंग कुनै नाता र साईनो नभएको र व्यवहारिक तथा कानुनी हिसावले शाहीलाई एमालेले आफ्नो सांसद भनेर दाबी गर्न नमिल्ने तर्क गर्नुभयो । यस्तै बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला खत्री वलीलाई पनि आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको उहांले बताउनु भयो ।
अर्का कानुनविद् नगेन्द्र बस्यालले भने अजय शाही सूर्य चिन्हबाट चुनाव जितेकाले एमालेले कारबाही गर्नु स्वभाविक रहेको उल्लेख गर्नुभयो । स्वतन्त्र भनिएपनि एमालेको सूर्य चिन्हबाट चुनाव जितेकाले स्वतन्त्र भन्न नपाउने उहांको भनाई छ ।
