बुटवल, ५ भदौ । भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात व्यवसायीको पेशा संकटमा परेको यातायात ब्यवसायीहरुले बताएका छन् । ओभरलोड नियन्त्रण नभए नेपाली ट्रक ब्यवसायीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पटक पटक गरेको आग्रह र अनुरोधलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले अब सडकमै सुतेर भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश नेपाल ट्रक यातायात ब्यवसायी समिति र ढुवानी समितिले शनिवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा ब्यवसायीहरुले नेपाल सरकारले भारतीय गाडीको ओभरलोड ब्यवस्थापन नगरे ओभरलो बोकेका भारतीय मालबाहक गाडीलाई नेपाल छिर्न नदिने चेतावनी दिएका छन् ।
नेपाल ट्रक यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागि भाडादर तोके पनि भारतीय मालबाहक गाडीको ओभर लोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर समेत नपाउने समस्या रहेको जिकिर गर्नु भयो । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको र ओभरलोड बोकेकै कारण नेपाली ट्रकहरुले भारतीय गाडीसंग प्रतिष्प्रधा गर्न नसकेको उहाँले बताउनु भयो ।
सरकारले गत असार २९ गते नेपालका बिभिन्न ६१ स्थानका लागि मालबाहक सवारीको भाडादर तोकिदिएको छ । करिब ७ बर्ष यता भाडादर समायोजन नभएको अवस्थामा अहिले समायोजन भए पनि बयवसायीहरुले तोकिएको भाडा नपाउने अवस्था विद्यमान रहेको छ ।
बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिदा नेपाली ट्रक व्यवसायीहरु धेरै मर्कामा परेका छन् । यस्तो समस्या बारम्बार झेल्दै आएका ब्यवसायीले ओभरलोड बोकेका भारतीय गाडी सिमा नाकामै समय समयमा रोक्ने गरेपनि यसको सुनुवाई र ब्यवसायीको माग सम्बोधन अहिलेसम्म भएको छैन ।
कार्यक्रममा ब्यवसायीहरुले देश भित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गर्ने नेपाल प्रहरीले भारतबाट आउने ओभरलोड गाडीलाई भने विना चेकजांच छुट दिने गरेको गुनासो गरेका छन् ।
ट्रक ब्यवसायीहरुले नेपालको २ प्रमुख नाका बिरगंज र भैरहवा नाकालाई लक्षित गरि ओभरलोड नियन्त्रण गर्ने राणनीति अगाडी बढाउने बताएका छन् । नेपाल ट्रक यातायात ब्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले भारतबाट आउने ठूला प्रकृतिका सामानलाई केही नगरे पनि पल्टि गरेर नेपाली ट्रकले बोक्न मिल्ने सामाग्रीको हकमा ओभरलोड नियन्त्रण गर्ने बताउनु भयो ।
मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धि प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । निर्देशिकाको बुंदा नम्बर १० मा ‘तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनलाई प्रचलित कानुन अनुसार जरिवाना गर्नुको साथै बढी भएको सामान झारी सवारी धनीले नै त्यस्तो सामानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने छ ।’ उल्लेख छ ।
नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहंदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिने गरेको छ ।
कार्यक्रममा नेपाल ट्रक यातायात ब्यवसायी समिति लुम्बिनी प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेले ओभरलोड नियन्त्रणमा कडाईका साथ लाग्ने बताउनु भयो । उहाँले ओभरलोड बोक्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिने नेपाली ट्रक घटना दुर्घटनामा परे बिमा संस्थानले विमा नब्यर्होने र समितिले पनि त्यस्ता गाडी खारेज गर्ने सम्मको कदम चाल्ने चेतावनी दिनु भयो ।
पत्रकार सम्मेलनमा लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जित बहादुर भाट, ढुवानी व्यवसायी समिति रुपन्देहीका अध्यक्ष श्याम बहादुर हमाललगायतले सरकारले समायोजन गरेको भाडा लागु गर्नका लागि पनि भारतीय गाडीको ओभरलोड नियन्त्रण जरुरी रहेकोे औल्याउनु भयो ।