कोरोना संक्रमणबाट जनताको जीवन बचाउने सरकारको पहिलो प्राथमिकता
बुटवल, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निजी क्षेत्रको प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउने बताउनु भएको छ । उहांले कोरोना संक्रमणबाट जनताको जीवन बचाउने अभियानलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउंदै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको जरुरी रहेको बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघको नव उद्यमशाला कार्यक्रमको मंगलबार बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार परिवर्तनकारी शक्तिहरुको गठवन्धनबाट बनेकाले संविधान र संघीयता कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउनुभयो । उहांले संविधानको अक्षरशः पालना र संघीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आफ्नो सचिवालय भवन लुम्बिनी प्रदेश सभालाई उपलब्ध गराएर सहयोग गरेको तर सरकारले यसपटकको वजेटमा बुटवलका अन्य व्यवसायिक संस्थालाई वजेट दिए पनि बुटवल उद्योग वाणिज्य संघलाई नदिएर पक्षपात गरेको गुनासो गर्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघले व्यबसायिक हकहित सहित यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा ठूलो योगदान गरेको समेत अध्यक्ष कसजुले स्मरण गर्नुभयो । मुलुकको औद्योगिक बिकासमा योगदान गर्नको लागि नै नव प्रवेशी उद्योगीहरुको बिकास र प्रवद्र्धनको लागि नव उद्यमशाला कार्यक्रम सञ्चालन गरिएको बताउँदै यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिनको लागि सहयोग गर्न समेत प्रदेश सरकारसंग अध्यक्ष कसजुले माग गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी निर्माण गर्ने र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवद्र्धनको काम आफैमा महत्वपूर्ण भएको बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघ, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च रुपन्देही र अन्तरप्रेरणा प्रा.लि.को सहकार्यमा नवीनतम सोच भएका नव उद्यमीहरुलाई व्यवसाय गर्न सहयोग गर्ने उद्धेश्यले रुपन्देहीमा प्रथम विजनेस इन्क्युवेसन कार्यक्रमको सञ्चालन गरिएको थियो ।
विगत ९ महिना देखि सञ्चालनमा रहेको यस कार्यक्रममा ४ जना नवउद्यमीहरुलाई उद्यमशीलता क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण तथा प्रोत्साहन प्रदान गरिएको थियो । यस कायक्रमले उद्यमशीलता विकास कार्यक्रममा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास र स्टार्ट अप इकोसिस्टम संस्थागत गर्नमा योगदान पनि पु¥याएको संघले जनाएको छ ।
रोजगार सृजना गरेर विकास प्रकृयालाई सहयोग पु¥याउने र नयाँ स्टार्टअपहरुको वृद्धि सुनिश्चित गर्दै, नयाँ व्यवसाय र विचारलाई प्रवद्र्धन गर्ने विजनेश इन्कुवेशन कार्यक्रमको प्रमुख उद्देश्य रहेको बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघ, लुम्बिनी वाणिज्य क्याम्पस, नेपाल युवा उद्यमी मञ्च रुपन्देही र अन्तर प्रेरणा प्रा.लि.को सहकार्यमा रुपन्देहीमा उद्यमशीलताको विकासको लागि विजनेस इन्क्युवेसन केन्द्रको स्थापना गरिएको हो । यस केन्द्रले उद्यमीहरुको सशक्तिकरणको लागि विभिन्न उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
रुपन्देही नव उद्यमशालाको समापनको अवसरमा सहभागि नवउद्यमीहरुले आ–आफनो व्यवसायको बारेमा प्रस्तुति तथा लगानी आह्वान गरेका थिए । त्यस अवसरमा अन्तरप्रेरणा प्रलिका प्रमुख कार्यकारी अधिकृत निरज खनालले कार्यक्रमको उद्देश्य, महत्व र भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस अवसरमा कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतिरमण पौडेल, नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदिप शाक्य, लुम्बिनी बाणिज्य क्याम्पसका प्राध्यापक गोपालप्रसाद पाण्डे, अन्तरप्रेरणाकी स्वेक्षा अधिकारी लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव बिमलराज भट्टराईले गर्नुभएको थियो ।