काठमाण्डौ, ३० साउन । नेपाली काँग्रेसले १४ औं महाधिवेशन यस अघि तोकिएको मितिमा नहुने भएपछि महाधिबेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अघि भदौ १६ देखि १९ गतेसम्म महाधिबेशनको मिति तोकिएको भएपनि सो सो मितिमा महाधिवेशन हुन नसकेपछि नेपाली काँग्रेसले तीन महिना पछि मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको लागि तोकिएको महाधिबेशनको मिति सारेर आगामी मंसिर ९ गते गर्ने निर्णय संगै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका केन्द्रिय सदस्य मिन विश्वकर्माका अनुसार बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।
विभिन्न जिल्लामा क्रियाशील सदस्यता वितरण र नविकरणमा देखिएको विवादका कारण भदौमा महाधिबेशन गर्ने कार्यतालिका प्रभावित भएपछि महाधिबेशन कहिले गर्ने भन्नेमा काँग्रेसको संस्थापन र रामचन्द्र पौडेल समुह बीच विवाद भएको थियो ।
महाधिबेशनको नयाँ कार्यतालिका अनुसार वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ । यस्तै केन्द्रीय महाधिबेशन मंसिर ९ गते देखि १३ गतेका लागि तोकिएको छ ।
नेपाली कांग्रेसको १४औ महाधिवेशनको नयाँ कार्यतालिका :–
१) वडा अधिबेशन : २०७८ भदौ १८ गते
२) गाउँ÷नगर पालिका अधिवेशन : २०७८ भदौ २७ गते
३) प्रदेश क्षेत्र क\ख अधिवेशन : २०७८ असोज १ गते
४) संघिय निर्वाचन क्षेत्र अधिवेशन : २०७८ असोज ५ गते
५) जिल्ला अधिवेशन : २०७८ असोज १० गते
६) प्रदेश अधिवेशन : २०७८ कार्तिक १० गते देखि १२ गते सम्म
७) केन्द्रीय महाधिवेशन : २०७८ मंसिर ९ गते देखि १३ गते सम्म सबै