कपिलवस्तु, ३० साउन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अपराधी पक्राउ अभियान सुरुवात गरेको ४ दिन भित्रमा २०७ जना फरार अपराधी पक्राउ गर्न सफल भएको छ । फरार अपराधी पक्राउ अभियान संचालन गरेको ४ दिनमै २०७ जना विभिन्न मुद्दामा फरार अपराधी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो ।
प्रहरी प्रमुख कार्कीका अनुसार पक्राउ अभियान संचालन गरेको पहिलो दिन साउन २६ गते मंगलबार ८१ जना, २७ गते बुधबार–७४ जना, २८ गते बिहिबार–२२ जना र २९ गते शुक्रबार ३० जना गरि २०७ जना फरार अपराधीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । ‘अपराध गरेर समाजलाई दुषित पारेर त्यहिँ समाजमा नै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन’ प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो– ‘अपराध गर्नेलाई ढिलो छिटो प्रहरीले कानुनको दायरामा ल्याइ छाड्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तिब्रता दिएका हौँ ।’
पक्राउ परेका मध्ये लुटपाट र जालसाजि मुद्दामा २०५९\०२\१६ गते र २०५९\०३\३१ गतेको फैसलाले दोषि ठहरिएका दुई जनालाई फैसलाको १९ बर्षपछि पक्राउ गरि सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराईएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी गराउनु भयो ।
बिहिबार पक्राउ परेकामा सवारी ज्यानका ३ जना, लुटपिटका २ जना, जालसाजिका २ जना, बनपैदवार, अंश, कुटपिटलगायतमा संलग्न समेत २२ जना रहेका डि एस पि भण्डारीले बताउनुभयो ।
त्यस्तै बिहिबार नै १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ बर्ष ८ महिना १८ दिन कैद बाँकि रहेका बाणगंगा नगरपालिका २ का सुरज बेल्बासे, वन सम्बन्धि कसुर गरि जनहि १ वर्ष कैद र २४mहजार ७०७ रुपैयाँ जरिबाना फैसला भएर बर्षौँदेखि फरार बाणगंगा नगरपालिका १ र २ का जितराम थारु र कृष्ण थारुलाई पनि प्रहरीले पक्राउ गर्न सपल भएको प्रहरी निरीक्षक दिनेश गुरुङले जानाकारी दिनुभयो । बिहिबार नै ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १ लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुल उपर समेत गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शुक्रबार जालसाजीका २ जना, सवारी ज्यानका १ जना, लागू औषधका १ जना, कुटपिटका १३ जना समेत गरी विभिन्न मुद्धामा फरार रहेका ३० जना फरार प्रतिबादी पक्राउ गरि सजायँ भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराएको छ ।
शुक्रबार वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रहरी कार्यालय गोरुसिङगे, कृष्णनगर, पिपरा, गणेशपुर र पकडी मातहतका फरार अपराधी सबै भन्दा बढि पक्राउ परेका छन् । प्रहरी निरिक्षक शंकर आचार्यका अनुसार उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सृजना भएपश्चात फरार अपराधी पक्राउ अभियानमा धेरै सकृयता आएको छ ।