भैरहवा, २७ साउन । फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्धाको १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका अपराधीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्धेश्यले गएको बैशाख १ गते देखि रुपन्देही प्रहरीले ‘फरार प्रतिवादी बिरुद्धको अप्रेशन कार्यक्रम’ संचालन गरेको छ । यसै कार्यक्रम अन्तर्गत प्रहरीले हालसम्म जघन्य अपराधमा संलग्न १० बर्ष भन्दा बढी सजाय भएका २३ जना फरार अपराधीहरुलाई पक्राउ गरिसकेको छ ।
यसै अभियान अन्तर्गत रुपन्देही जिल्ला अदालतको मिति २०७३ बैशाख ३० गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भई फरार रहेका जिल्ला रुपन्देही साविक बिष्णुपुर गा.बि.स.वडा न. ८ हाल गैडहवा गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ७० को चिनक यादवलाई प्रहरीले पक्राउ गरेको छ । फरार अपराधीको अप्रेशन कार्यक्रम अन्तर्गत साउन २६ गते जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले यादवलाई निजको आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । निजलाई फैसला कार्यान्वयनको सिलसिलामा रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश भएकोमा उल्लेखित कैद भुक्तानको लागि आज जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
