बुटवल, २५ साउन । कोभिसिल्डको दोस्रो मात्राको प्रतिक्षामा रहेका रुपन्देहीका नागरिकलाई यही साउन ३२ गतेबाट एस्ट्राजेनेका खोप लगाइने भएको छ । गएको चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका खोप लगाइने भएको हो । दोस्रो मात्रा खोपको पर्खाईमा रहेकाहरु रुपन्देहीमा ३६ हजार ६ सय २ जना रहेका छन् ।
सरकारले साउन २५ गतेबाट यो खोप लगाउन भनेपनि रुपन्देहीमा भेरोसेलको पहिलो डोज लगाएका हरुलाई दोस्रो डोज खोप लगाउन शुरु गरिएकाले एस्ट्राजेनेका खोप साउन ३२ गतेबाट लगाउन सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा १६ पालिकाका साथै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भिम अस्पताल भैरहवामा पनि खोप केन्द्र तोकिएको छ । स्वास्थ्य कार्यालयका अनुसार यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने छ ।
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा चैतमा लगाइएको थियो । दोस्रो मात्रा पहिलो खोप लगाएको १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो ।
सरकारले दोस्रो मात्रा खोपको पखाईमा रहेकाहरुलाई खोप लगाई सकेपछि बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने प्राथमिकतामा राखेको छ ।
