बुटवल, २५ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकारको सुरक्षा र समाचारका बिषयमा छलफल गर्ने गरि फ्री मिडिया नेटवर्कलाई पुन सक्रिय बनाएको छ । इन्टरनेशनल अलर्टसँगको सहकार्यमा महासंघले पत्रकारहरुको भौतिक सुरक्षा तथा मिडियामा आएका समाचारहरुका बिषयमा छलफल गर्ने गरी नेटवर्कलाई सक्रिय बनाएको हो ।
महासंघ हलमा सोमबार भएको छलफलमा पत्रकारिता पेशा समाजको मार्गदर्शन गर्ने पेशा भएकाले जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । छलफलमा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य खेम लुइँटेलले सुचनाको पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्दा त्यो विश्वसनिय हुने बताउनु भयो । उहांले हरेक क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेको औंल्याउनु भयो ।
यसैगरि राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका उपसचिव सन्तोष भट्टराईले राजनीति भन्दा माथि उठेर नागरिकका सवाल उठाउन पत्रकारहरुलाई सुझाव दिनुभयो । इलाका प्रशासन कार्यालय बुटवलका शाखा प्रमुख राजकुमारी गौतमले पत्रकारिताका सवालमा छलफल हुने कुरा सकरात्मक भएको भन्दै पत्रकार सुरक्षामा प्रशासन संवेदनशिल रहेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले समाचार लेखेकै कारण पत्रकार असुरक्षित हुने अवस्था आउन नदिने बताउनु भयो । बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष टंक पराजुलीले पत्रकारिताले समाजलाई नै डो¥याउने भएकाले पत्रकारहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार यानेन्द्र जिसीले विगतदेखि नै फ्री मिडिया नेटवर्क मार्फत छलफल हुने गरेको बताउँदै यूट्युबर सामाजिक सञ्जाललाई हेरेर पत्रकारिताका बारेमा आलोचन नगर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा नेटवर्कका संयोजक रामराज पोख्रेलले पत्रकारको सुरक्षा, समाचारका बिषयमा सरोकारवालाहरुसँग छलफल गरेर पत्रकारितालाई समेत सुधार गर्ने उद्देश्यले नेटवर्कको गठन गरिएको बताउनु भयो । उक्त अवसरमा उच्च अदालत तुल्सिपुर बुटवल बार एसोसिएशनका सचिव गोविन्द प्रसाद मरासिनी, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्टराई, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रिमा बिसी, पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, सचिव विनोद पयिारलगायतले बोल्दै कोरोना महामारीले पत्रकारिता पेशामा नयाँ चुनौति देखा परेको बताउनु भयो ।