बुटवल, २१ साउन । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, रुपन्देहीले हराएको नगद, सुन र हाते ब्याग फेला पारी सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरेको छ । पाल्पा बाट बुटवल आउंदै गरेका देवराज करनले फेला पारेको नगद, सुन र हाते ब्याग ट्राफिक प्रहरीले सम्वन्धित ब्यक्तिलाई हस्तान्तरण गरेको हो ।
पाल्पा बाट बुटवल आउंदै गरेका करनले दुई वटा हाते ब्याग सहित ब्यागमा रहेको नगद ६३ हजार ६५५ रुपैयाँ र सोमा रहेको सुनको चन्द्रमा फेला पारी बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धार्थ राजमार्ग बुटवल उपमहानगरपालिका –३, सिद्धबाबामा मा चेकजाँचका लागि खटिएको ट्राफिक प्रहरी टोलीलाई बुझाएका थिए ।
चेकजाँचमा खटिएको ट्राफिक प्रहरी टोलीले नगद सहितको झोला ट्राफिक प्रदेश कार्यालयमा बुझाए पछि कार्यालयले प्रदेश मातहतका सबै जिल्ला संग समन्वय गरी ब्यक्ति पहिचान गरेर नगद, सुन र झोला सम्वन्धित ब्यक्तिलाई बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाको समन्वयमा पाल्पा जिल्ला तानसेन नगरपालिका–२, मेहलधारा बस्ने ३५ बर्षीय श्यामकला पचभैयालाई फेला परेको नगद ६३ हजार ६५५, सुनको चन्द्रमा र २ वटा हाते ब्याग लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा बोलाएर हस्तान्तरण गरिएको प्रहरी निरीक्षक मधु नेपालले बताउनु भयो ।
हरायो भनेर आशा मारेको नगद र सुन सहितको झोला प्रहरीले खोज खबर गरी सकुशल हातमा थमाएदिएकोमा श्यामकला निकै खुशी भएको प्रहरी निरीक्षक नेपालले बताउनु भयो ।