बुटवल, २१ साउन । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) बुटवल नगर समिति रुपन्देहीमा आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।
बिहीबार संघकै कार्यालयमा सम्पन्न दशौं साधारण सभा तथा चौथो अधिबेशनले तील बहादुर हिस्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भिम बहादुर दर्लामी, महिला उपाध्यक्षमा भागमनी चौधरी, सचिवमा जयसिंह चौधरी र कोषाध्यक्षमा दुर्गाप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा पतिराम चौधरी, प्रेमबहादुर सुनार, दुर्गा चौधरी, बाबुराम बस्याल, मिनबहादुर राना, महिला सदस्यमा गिता देवी राव र लेखा समिति संयोजकमा कृष्णलाल भुसाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिनुभयो ।
यस अघि संघको दशौं साधारण सभा तथा चौथो अधिबेशनको उदेघाटन गर्दै नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका राष्ट्रिय अध्यक्ष जे वी गुरुङले संस्थालाई सवल र सक्षम बनाउन सदस्य संख्या बृद्धि गर्नुपर्ने बताउनु भयो । काउन असंगठित क्षेत्रका मजदुरहरुको पेशागत सुरक्षा र हकहितका लागि स्थापना भएको संस्था भएकाले काउनका हरेक गतिविधी मजदुर लक्षित हुने बताउनु भयो । मजदुरका समस्यालाई राज्यले सम्वोधन गर्न नसकेको भन्दै अध्यक्ष गुरुङले योगदानमा आधारित सामाजिक सुरक्षा कोष मजदुरको हितमा रहेकाले यसलाई कार्यान्वयन गर्न मजदुरहरुले नै दवाव दिनु पर्ने वताउनु भयो ।
काउनका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष ओम प्रकाश चौधरीले संस्था वलियो भएमा मात्र संस्थामा रहेका ब्यक्ति वलियो हुने भन्दै आफ्नो हित भन्दा पनि सबैले संस्थाको हितमा काम गरेमा मजदुरका हकहित र समस्या सम्वोधनका लागि टेवा पुग्ने बताउनु भयो ।
नेपाल ट्रेड युनियन काँग्रेस लुम्विनी प्रदेश उपाध्यक्ष कृष्णप्रसाद बेलवासेले कुनै पनि संघ संगठनमा लाग्नु भन्दा पहिला संघ संगठनका गतिविधि र कार्यक्रम बुझेर लाग्दा संस्थामा काम गर्न सहज हुने बताउनु भयो ।
नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ बुटवल नगर अध्यक्ष सूर्यदेव दासले कोभिड महामारीका वावजुद पनि काउनले माजदुरहरुको हकहित र समस्या समाधानका लागि ठूलो योगदान गरेको बताउनु भयो । उहांले कोभिडको महामारीले समस्यामा परेका मजदुरहरुलाई राहत वितरण र मृत्यु भएका संघका सदस्यका परिवारलाई राहत र किरिया खर्च वापत १ लाख १७ हजार सहयोग गर्ने कार्यलाई निरन्तरता दिइएको बताउनु भयो ।
कार्यक्रममा काउनका केन्द्रीय सदस्य नारायण सुनार, जिल्ला अध्यक्ष विरबहादुर तामाङलगायतले पनि मजदुरले भोग्नु परेका समस्याका बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा नगर सचिव तिलबहादुर हिस्कीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णलाल भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष आशे थारुले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सबैभन्दा धेरै घर निर्माण गर्ने, मिक्सचर मेसिन चलाउने, समयमा परिचय पत्र नविकरण गर्ने संघका सदस्य र कर्मचारी दिलमाया थापालाई नगद, प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।