बुटवल, २१ साउन । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीलाई अपरहण गरेको भन्ने आरोपको खण्डन गरेको छ । सांसद वलीले पत्रकार सम्मेलन मार्फत आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाएपछि एमालेले पनि पत्रकार सम्मेलन गरेर अपरहणको आरोप झुठा र निराधार भएको बताएको हो ।
बिहीबार एमाले संसदीय दलको कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वलीले लगाएको आरोपमा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो ।
एमाले अध्यक्ष केपि ओलीले पठाएको स्पष्टिकरणको चिठि दिनको लागि आफू दाङ गएको र सांसद वलीको मुख्यमन्त्रीलाई भेटेर कुरा गर्ने चाहना अनुसार आफूले मुख्यमन्त्री निवासमा ल्याएको सचेतक ढकालले बताउनु भयो ।
उहांले सांसद वली नेकपाबाट चुनाव लडे पनि पृष्ठभूमि र पार्टी विभाजन पछि संसदीय दल र दाङ जिल्ला कमिटी बैठकमा सहभागी भएका कारण वली एमालेकै सांसद भएको दाबी गर्नुभयो ।
तरु, सांसद वलीले भने आफू उपचारको लागि नेपालगञ्ज जान लागेको बताएपछि घरमा आएका एमाले सचेतक ढकालले आफूपनि नेपालगञ्ज जान लागेको र संगै जाऔं भनेका कारण उहांको गाडीमा चढेपछि जवरजस्ती बुटवल मुख्यमन्त्रीको निवासमा पु¥याएर ६ दिनसम्म बन्धक बनाएको आरोप लगाउनु भएको थियो ।