बुटवल, २१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि यही साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तीमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम यही साउन २७ गते बुधवार दिउसो १ वजेका लागि प्रदेश सभाको विशेष अधिबेशन बस्ने गरी तोक्नु भएको उल्लेख छ । विज्ञप्तीमा नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभाको अधिबेशन बोलाउनको लागि प्रदेश सभाका सदस्यहरुले लिखित अनुरोध गरे अनुसार विशेष अधिबेशन तोकिएको उल्लेख छ ।
यस्तै प्रदेशसभा सचिवालयले पनि बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी गराएको छ ।
साउन १८ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । विपक्षी दलका सांसदहरुले प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन बोलाउन समेत प्रदेश प्रमुख समक्ष माग गरेका थिए ।