भैरहवा, १९ साउन । जिल्ला प्रहरी कार्यालय रूपन्देही मातहतका प्रहरी ईकाई कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउंबाट ११ लाख बढिको अवैध सामान बरामद गर्नुका साथै मानिस र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले आज(मंगलबार) जिल्लाका विभिन्न ठाउंबाट रु.११ लाख १८ हजार बराबरको अबैध सामान सहित पक्राउ परेका मानिस र मोटरसाईकल भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्ष सत्यनारायण थापाले बताउनु भयो ।
प्रहरी प्रवक्ता थापाका अनुसार ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिभिन्न कम्पनिका मोबाईल सेट–३७ पिस, ईयरफोन–१७५ पिस, ब्लुतुथ–५ पिस र मोबाईलको व्याट्रि–१०० पिस गरी जम्मा रु.८ लाख २० हजार बराबरको अबैध मोबाईल समेतका सामान बरामद गरेको छ ।
यस्तै प्रहरी टोलीले लु ६ प ३०२५, लु ५ प ५०८८ र युपी ५३ ए ६९१६ नं को मोटरसाईकलमा चढि आएका रुपन्देही रोहिणी गाउँपालिका –४ छिपागढबस्ने बर्ष १८ को मुवारक मुसलमान, सोही ठाउं बस्ने बर्ष १९ को नजरे आलम र बर्ष १९ को अनिल बानिया समेतले ल्याउंदै गरेको अबस्थामा १५० पिस ब्रोईलर र मोटरसाइकल सहित जम्मा राजश्व १ लाख ८० हजार तथा नियन्त्रणमा लिईएका ३ जनालाई जनही २५ हजार गरी ७५ हजार जरिवाना भएको छ । बरामद कुखुराहरु आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाई र मोटरसाईकल र मानिस भन्सार कार्यालय बेलहिया पठाईएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देही मातहतको प्रहरी चौकी शिवपुर गोनाहाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको कुर्ता सुरुवाल २९ थान, तन्ना–२ पिस र पर्दा–५ थान गरी अन्दाजी मूल्य रु.३३ हजार बराबरको अबैध सामान बरामद गरि भन्सार कार्यालय बेलहिया पठाईएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य रु १० हजार बराबरको ४ बोरा चिनी बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।
