बुटवल, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आज(मंगलबार)मुख्यमन्त्री बिरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वसाको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयमा दर्ता गराइएको अविश्वासको प्रस्तावमा नेकपा माओवादी केन्द्र संसदिय दलका नेता कुलप्रसाद केसीलाइ नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
विपक्षी दलका सांसदहरुले प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनलाइ प्रस्ताव बुझाएका हुन् । अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता भइसकेको सचिव पुनले जानकारी दिनुभयो । विपक्षी दलका सांसदहरुले मुख्यमन्त्री विरुद्ध अहिलेसम्म आफुहरुको अविश्वास कायम रहेको भन्दै संविधानको धारा १८८(४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली नियम १४४(१) बमोजिम अविशवास प्रस्ताव दर्ता गरेको उल्लेख गरेका छन् । उनीहरुले दर्ता गराएको प्रस्तावमा मुख्यमन्त्री विरुद्ध यसअघि प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा छलफल नै नगरी सांसदहरुको अधिकार हनन गरिएको बताएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउन एक तिहाइ हस्ताक्षर हुनुपर्ने भएकाले ३४ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताउनु भयो । यसअघि गत बैशाख ६ गते पनि विपक्षी गठबन्धनले पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । तर मुख्यमन्त्री पोखरेलले त्यसलाइ सदनमा प्रवेशै गर्न नदिइ बैशाख १९ मा सरकारबाट राजिनामा दिएर सोही दिन र पुनः नियुक्ति लिनुभएको थियो ।
विशेष अधिवेशन गर्न प्रदेश प्रमुख समक्ष समाबेदन
अविश्वासको प्रस्ताव दर्ता संगै विपक्षी गठबन्धमा रहेका दलका सांसदहरुले आजै प्रदेश प्रमुख अमिक शेरचन समक्ष समाबेदन गरेका छन् । विपक्षी दलले प्रदेश प्रमुख शेरचन समक्ष अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका हुन् । विपक्षी गठबन्धनका सांसदहरुले मुख्यमन्त्री पोखरेललाइ प्रदेशसभाका बहुमत सदस्यको समर्थन नरहेको भन्दै अविश्वासको प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।