अल्पमतको सरकार विघटन गरी अर्को सरकार गठनको ब्यवस्था मिलाउन माग
बुटवल, १६ साउन । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शँकर पोखरेल नेतृत्वको सरकार अल्पमत रहेकोले सरकार विघटन गरी अर्को सरकार गठनको ब्यवस्था मिलाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नवनियुक्त प्रदेश प्रमुख शेरचनलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउंदै विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका संसदिय दलका नेता तथा सांसदहरूले सरकार अल्पमत परेको भन्दै नेकपा एमाले नेतृत्वको सरकार विघटन गरी अर्को सरकार गठनको ब्यवस्था मिलाउन माग गरेका हुन् । उनीहरुले प्रदेश प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्य मध्ये आफुहरुको पक्षमा ४२ जना र सरकारलाई ३८ जना सदस्यको मात्र समर्थन रहेकाले सरकार अल्पमतमा रहेको उल्लेख गरेका छन् ।
वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्नेमा सामान्य संवैधानिक प्रक्रिया पुरा नगरी सरकार चलाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
गएको बैशाख १९ गते संसदमा प्रस्तुत अविश्वासको प्रस्ताव सामना नगरी मुख्यमन्त्री शँकर पोखरेलले प्रदेशसभा अधिबेशन अन्त्य गराउनु भएको थियो । अधिबेशन अन्त्यपछि मुख्यमन्त्री पोखरेलले आफुले पदवाट राजिनामा दिई प्रदेशसभामा आफ्नो बहुमत रहेको भन्दै एकल वहुमतको सरकारको दावी गर्नुभएको थियो । पोखरेलको दावी अनुसार तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल वहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रदेशसभामा प्रस्तुत भई मुख्यमन्त्रीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ समेत दिई निर्णयार्थ पेश गर्ने बेलामा असार ३१ गते सरकार र सत्तारुढ दलले नै प्रदेशसभा वहिस्कार गरेर सोही राती संसद अधिबेशन अन्त्य गरी साउन १ गते अध्यादेशबाट बजेट प्रस्तुत गरिएको विपक्षी दलहरुले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । अल्पमतमा रहेको सरकारको संविधानको भावना र प्रदेश प्रमुखको गरिमालाई कमजोर पार्ने र असंवैधानिक प्रणालीमा लैजाने गलत नियतलाई सच्याउन संवैधानिक र कानुनी मर्म अनुसार प्रक्रिया अगाडी बढाउन विपक्षी दलहरुले प्रदेश प्रमुख संग माग गरेका छन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडिया, माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसी, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता संहसराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसी सहित विपक्षी दलका ३९ जना प्रदेशसभा सदस्यहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रदेशसभाका विपक्षी दलहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका कुराहरु संविधान र कानुनसम्मत भए नभएकोबारे अध्ययन गरेर निर्णयमा पुग्ने बताउनु भयो । उहांले ध्यानाकर्षण पत्रमा विपक्षी दलले उठाएका मागहरुका बारेमा मुख्यमन्त्री संग पनि सल्लाह गर्ने बताउनु भएको छ ।