बुटवल, १६ साउन । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशले लामो समय देखि बन्द रहेका धर्मकाँटा संचालन गर्ने निर्णय गरेको छ । शनिवार बुटवलमा बसेको विशेष बैठकले ओभर लोड नियन्त्रणका लागि लुम्बिनी प्रदेशमा ट्रक यातायात व्यवसायी समितिले संचालनमा ल्याएका हाल बन्द रहेका धर्मकाँटा संचालन गर्ने निर्णय गरेको हो ।
धर्मकाँटा संचालन नहुदा स्वदेशी तथा भारतीय मालवाहक सवारी साधनले ओभर लोड ढुवानी गर्दा सडकको अवस्था जिर्ण वनेकोले ओभरलोड नियन्त्रणका लागि महासंघले धर्मकाँटा संचालन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सवै व्यवसायीका सवारी साधन संचालन हुने गरी वातावरण मिलाउने निर्णय समेत गरेको महासंघका प्रदेश संयोजक यमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बैठकले सरकारले हालै समायोजन गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्वयन गर्न गराउन सवै यातायात व्यसायीलाई सहयोग गर्न आग्रह गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेशका सल्लाहकार जितबहादुर भाटले बताउनु भयो ।
प्रदेश संयोजक यमप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल, लुम्बिनी ट्रक समिति भैरहवा, वाणगंगा यातायात व्यवसायी समिति कपिलवस्तु र राप्ती अञ्चल सम्युक्त यातायात व्यवसायी समितिका पदाधिकारी तथा प्रदेशका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।