महासंघको कामलाई ब्यवस्थित बनाउन उपसमिति गठन
बुटवल, १५ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ रुपन्देहीका साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरि दुर्घटना विमा गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासंघको कामलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा भौतिक पूर्वाधार उपसमिति गठन भएको छ । उपसमितिमा मोती न्यौपाने, पुनहरी बेल्बासे र नविन घिमिरे सदस्य रहेका छन् । यसैगरि अर्का उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा प्रकाशन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा प्रकाश पाण्डे, प्रदिप आचार्य र सलमान खाँन रहेका छन् ।
यसैगरि सचिव विनोद परियारको संयोजकत्वमा तालिम तथा अन्तरक्रिया उपसमिति गठन गरिएकोे छ । सदस्यहरुमा राधेश्याम विश्वकर्मा, राज चौधरी र कमला पाण्डे रहेका छन् । कोषाध्यक्ष सञ्जय सौगातको संयोजकत्वमा शंकर पाण्डे, प्रकाश आचार्य र टंक सुनार सदस्य रहेको पुरस्कार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै सहसचिव विरेन्द्र कुँवरको संयोजकत्वमा कपिल अधिकारी, सलमान खाँन र नविन घिमिरे सदस्य रहेको अतिरिक्त क्रियाकलाप उपसमिति बनाइएको छ । अर्का सहसचिव माया केसीको संयोजकत्वमा कमला पाण्डे, राधेश्याम विश्वकर्मा र मोती न्यौपाने सदस्य रहेको लैंगिक तथा समावेशी उपसमिति गठन गरिएको छ ।
बैठकले पूर्व अध्यक्ष तथा अग्रजहरुसँग रायसुझाव संकलन गर्ने गरि कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । यसैगरि कोरोना महामारीका बेलामा स्वास्थ्य सामाग्री तथा कोरोना आपतकालिन कोषमा सहयोग गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई महासंघको संस्थागत र पत्रकार क्षमता अभिबृद्धिका लागि बजेट छुट्टाएकोमा धन्यवाद दिने निर्णय गरेको सचिव विनोद परियारले जानकारी दिनुभयो । यस्तै बैठकले रुपन्देहीका सञ्चारगृह र कार्यरत सञ्चारकर्मीहरुको तथ्यांक संकलन गर्ने एंव संस्थाको वेभसाईड निर्माण गर्ने निर्णय पनि गरेको छ ।
