संविधानले निर्दिष्ट गरेअनुसार निर्णय गर्ने प्रतिवद्धता
बुटवल, १५ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्नु भएको छ । शेरवहादुर देउवा सरकारको गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।
लुम्बिनीका प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दै कालीगण्डकी–तिनाउ डाइभर्सन गर्नुपर्ने बताउनु भयो । प्रदेश प्रमुख शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताउदै उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुननदिने उपाय अवलम्बन गर्न सकिने बताउनु भयो ।
‘गण्डकी प्रदेश प्रमुख हुँदापनि मैले यही सुझाव दिएको हुँ,’ उहाँले भन्नु भयो– ‘डाइभर्सन गरेको पानी जहाँ गएपनि नेपालीले प्रतिफल पाउने हो ।’ शेरचनले संविधान भन्दा माथि कोही नभएकोमा जोड दिंदै आफूले संविधानले निर्दिष्ट गरेअनुसार निर्णय गर्ने बताउनु भयो । लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको उल्लेख गर्दै तिनको सदुपयोग गरी प्रदेशको विकास गर्नुपर्नेमा शेरचनले जोड दिनुभयो । प्रदेश सरकार, राजनीतिकदल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने उहाँको भनाइ रहेको छ ।
तेस्रो प्रदेश प्रमुख भएर आउनु भएका शेरचनको पदभार ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु भने उपस्थित भएनन् । २०७४ साल माघ ७ गते नेपाली कांग्रेस नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त ग¥यो । गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेललाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनःमुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग प्रदेशका विपक्षी गठबन्धन रुष्ट बनेका थिए ।