बुटवल, १४ साउन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले विद्युत आपूर्तिलाई नियमित बनाउन माग गर्दै नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केही समयदेखि बुटवल क्षेत्रमा विद्युतको आपूर्ति अनियमित भएको बताउँदै संघको टोलीले लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विद्युत आपूर्ति अनियमित हुँदा उद्योग व्यबसायमा र ग्राहस्थ उपभोक्तामा कठिनाई उत्पन्न भएको बताउनु भयो ।
ज्ञापन पत्रमा एकातिर विद्युत उत्पादन क्षमतामा बृद्धि भई विद्युतमा आत्मनिरभरता तर्फ अगाडि बढेको समाचार आएका छन् भने अर्कोतर्फ त्यसको ठिक विपरित आपूर्ति दिनानुदिन अनियमित भएको उल्लेख गरिएको छ । त्यस्तै पटक–पटक विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगको मेसिनरी लगायत उत्पादन तयारीमा रहेको कच्चा माल समेत नोक्सानी हुँदा उत्पादन लागत बढ्न जाने भएकोले विद्युत वितरण प्रणालीलाई सवलीकरण गर्न र भार व्यबस्थापनको लागि यथासिघ्र पहल गर्न अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्राधिकरणका प्रादेशिक प्रमुख ठाकुरले योगिकुटी ग्रिडमा रहेका तीन वटा ट्रान्सफर्मर मध्ये एउटा जलेका कारण त्यसले ५÷७ दिन यता समस्या आएको बताउनु भयो । एकातिर गर्मीमा लोड बढेको र अर्कोतिर चलिरहेको ट्रान्सफर्मर बिग्रिदा बुटवल, भैरहवा, नयामिल र अमुवा फिडरमा समस्या भएको बताउँदै उहाँले समस्या समाधान र उचित व्यबस्थापनको काम भईरहेकाले विद्युत नियमित आपुर्ति हुन ८÷१० दिन समय लाग्ने बताउनु भयो ।
![सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित](https://sansarpost.com/bhitra/2025/01/khana-mahotsawa-100x75.jpg)